ऐतिहासिक शतक प्रहारपछि पारसले के भने?

आजको खबर   |    प्रकाशित : २०७६ असोज १२ गते ०:५१

काठमाडौं। शनिबारको दिन नेपाली क्रिकेटका लागि महत्वपूर्ण रह्यो। करिब साढे ३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निलम्बन भोगिरहेको नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पायो। उता फिल्डमा नेपाली खेलाडीले बाजी मारे। त्यसमा पनि कप्तान पारस खड्काले शनिबार घरेलु टिम सिंगापुरविरुद्ध इण्डियन एसोसिएसनको मैदानमा खेलेको इनिंग नेपाली क्रिकेटका लागि ऐतिहासिक रह्यो।

नेपालले टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको लामो समय भइसक्दा पनि कुनै पनि खेलाडीले शतक बनाउन सकिरहेका थिएनन्। नेपाली खेलाडी लामो शर्ट प्रहार गर्न सक्दैनन् भन्ने थियो। तर, शनिबार सिंगापुरविरुद्ध पारसले खेलेको इनिंग विश्कै उत्कृष्ट ब्याट्सम्यानले खेले जस्तै थियो। उनले नेपालका लागि टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाए। उनी नेपालका लागि यो उपलब्धी हासिल गर्ने पहिलो खेलाडी बने। पारसले नै ओडिआईमा पनि नेपालका लागि पहिलो शतक बनाएका छन्।

टि ट्वान्टीमा थोरै बल खलिने भएकाले शतक विरलै बन्ने गर्छ। एक ब्याट्सम्यानका लागि शतक बनाउनु भनेको एक माइलस्टोन पूरा गर्नु हो। नटआउट १०६ रन बनाउने क्रममा पारसले ५२ बल खेले। उनले ९ छक्का र ७ चौका प्रहार गरे। शनिबार सो उपलब्धीसँगै टिमलाई जिताएका पारस खेलको म्यान अफ दि म्याच पनि बने। शतक प्रहारपछि उनले भने, ‘टिमका लागि जित महत्वपूर्ण हुन्छ। आज त्यो गर्न सकेँ निकै खुशी छु।’ उनले बाँकी खेलमा पनि नेपालले राम्रो खेल्ने विश्वाससमेत व्यक्त गरे। उनले जितका लागि सबै खेलाडीलाई क्रेडिट दिए।

शनिबार नेपालले एक अर्को रेकर्ड पनि बनायो। त्यो हो साझेदारी। आरिफ शेख र पारसले दोस्रो विकेटका लागि १४५ रनको नटआउट साझेदारी गरे। टि ट्वान्टी अन्तर्राष्ट्रियमा यो नेपालको कुनै पनि विकेटका लागि सर्वाधिक साझेदारी स्कोर हो। १५२ रनको लक्ष्य पाएको नेपालले एक विकेटमा १६ ओभरमै लक्ष्य पूरा गरेको थियो।

पहिलो खेल जिम्बाबेसँग ५ विकेटले गुमाएको नेपालले दोस्रो खेलमा जित हात पार्दै प्रतियोगिताको फाइनलमा पुग्ने आशा जिवितै राखेको छ।

२०७६ असोज १२ गते ०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर