नागढुंगा–मुग्लिन सडकखण्ड जामले सास्ती : २ घण्टाको दूरीमा १० घण्टा जाम

आजको खबर   |    प्रकाशित : २०७६ असोज १२ गते ४:४८

काठमाडौं । ‘सर छिटो जाउँ न, निकै हतार भैसक्यो।’ नुवाकोटबाट काठमाडौं फर्किएकी पत्रकार रञ्जु काफ्लेले गाडी चालकलाई भन्दै थिइन्। गाडी चालकले पनि रञ्जुको कुरा स्वीकार्दै तीब्र गतिमा गाडी हाँकिरहेका थिए।

होटल तथा पर्यटन व्यवसायी संघ ३ नं प्रदेशका महासचिव दामोदर नेपाल आफैं चालक भएर करिब आधा घण्टाको समयमै नुवाकोटबाट धादिङको गल्छीमा गाडी पुर्याए।

गल्छीबाट करिब १ किलोमिटर अगाडि पुगेपछि जाम सुरु भयो। महासचिव नेपालले अर्को साइट तिर आएका गाडी चालकलाई कुन ठाउँदेखि जाम छ भनेर सोधे, उनको जबाफ थियो, ‘म नागढुंगाबाट आएको ७ घण्टा भयो, पुरै जाम छ, एक ठाउँमा ट्रक बिग्रिएको छ।’

त्यो सुनेपछि गाडीमा भएका यात्रुलाई निकै सकस भयो। गोरखाका दीपक पराजुलीले भने, ‘यो जामले त निल्नु न ओकल्नु भयो। २ घण्टामा काठमाडौं आइपुग्नु पर्ने गाडिले करिब साढे ८ घण्टा जाम मै बिताइसकेको छ। अब कति कुर्नु पर्ने हो, केही अत्तोपत्तो छैन।’

दिनहुँ ८ घण्टाबढी ट्राफिक जाम

नागढुंगा–मुग्लिन सडकखण्डमा दिनहुँजसो ८ देखि १२ घण्टासम्म जाम पर्ने गर्छ। पुराना तथा बीचबीचमा बिग्रने गाडीहरुका कारण जाम पर्ने गरेको सडक बिभागले जनाएको छ।

राजधानी जोड्ने प्रमुख सडकको रुपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्डमा दिनहुँ जामले गर्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ। साँधुरो सडक र दशैंको समय भएका कारण यो पटक बढी जाम परेको सडक विभागले जनाएको छ।

‘लामो समय नागढुंगा–मुग्लिन सडकखण्डमा जाम परेपछि एकजनाको बाटोमै मृत्यु भएको कुरा सार्वजनिक भएपछि सरकारले जाम परेको थाहा पाएको रहेछ’ बिहीबार काठमाडौंबाट कैलालीका लागि छुटेका नरेश खड्काले भने, ‘जुनसुकै कुरामा पनि सरकारको ध्यान जान क्षति नै बहोर्नुपर्ने रहेछ।’

उनले काठमाडौंबाट १५ घण्टाको समयलाग्ने कैलालीमा झण्डै २४ घण्टामा पुर्याएको बताए। उनका अनुसार मुग्लिन सडकमै ९ घण्टा समय लागेको थियो।

यसरी ट्राफिक जाम पर्ने हो भने सरकारलाई २० लाख पर्यटक भित्र्याउन निकै चुनौती हुने रौतहटको नविन पोखरेलले बताए। उनले भने, ‘सरकारले पर्यटक भित्र्याउने होडबाजी गरेको बेलामा मुग्लिन सडकको अवस्थालाई चिनेको छैन। यो ठाउँमा पर्ने ट्राफिक जाम बारेमा सोच्नु जरुरी छ।’

प्रहरी भन्छ, ‘ट्राफिक जाम परेकै छैन’
नागढुंगा–मुग्लिन सडकखण्डमा यात्रुले यसरी सास्ती खेप्दा पनि ट्राफिक प्रहरी भने जाम नपरेको दाबी गर्छ। ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक रवि कुमार पौडेलले भने, ‘कहिलेकाँही सामान्य जाम पर्ने गर्छ तर हिजो आज भने कत्तिपनि जाम छैन।’

नागढुंगा–मुग्लिन सडकखण्डमा दैनिकजसो ८/१० घण्टाबढी परेको जामको विषयलाई भने प्रवक्ता पौडेल ठाडै अस्वीकार गर्छन्, ‘उनी भन्छन्, ‘हामी चौविसै घण्टामा सडकमा छौं, हामीले देखेका छैन। सो सडकमा १/२ दिन गाडि बिग्रेर थोरै समय जाम परेको हो । अहिले त्यो पनि छैन।’

दशैंको समयमा गाडिको चाप बढेका कारण कहिलेकाँही जाम पर्ने गरेको उनको तर्क छ।

दैनिक १० हजार बढी गाडी गुड्दै

काठमाडौंबाट बाहिरिने प्रमुख सडकको रुपमा रहेको नागढुंगा–मुग्लिन सडकखण्डमा दैनिक १० हजारबढी गाडी गुड्ने गरेका छन्।

दशैंको समय भएका कारण अरुबेला भन्दा झण्डै २-३ हजारबढी गाडी गुड्ने गरेको ट्राफिक प्रहरी प्रवक्ता पौडेलले बताए। उनले भने, ‘यो सडकमा अरु बेला भन्दा दशैंको समयमा गाडीहरु बढी गुड्ने गर्छन्।’

मान्छे पनि यो सडकमा दैनिक ५० हजारभन्दा बढी उपत्यकाबाहिर गइरहेको उनले बताए। ‘बाँकी समयमा ५-१० हजार मान्छे मात्रै बाहिर गइरहेको अवस्थामा दशैंको समयमा भने ७० हजार भन्दा बढी एकैदिनमा बाहिर गएको हाम्रो तथ्याङ्कमा छ’, उनले भने।

२०७६ असोज १२ गते ४:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर