अमेरिकामा आफैंले बनाएको जहाज उडाउदै नेपाली प्रमोद रेग्मी (भिडियो)
आजको खबर | प्रकाशित : २०७५ असोज १७ गते ५:०४
काठमाडौँ । नेपाली नागरिकहरु पनि विश्वका मुलुकहरुमा पनि निकै प्रगति गर्दै गइरहेका छन्। विश्वमै चिनिने कामहरु गर्दै आएका छन्। त्यसै क्रममा अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले जहाज बनाएर त्यसको सफल उडान भरेका छन्। अमेरिकी सरकारले हवाइ विभागमा नेपालीले बनाएको जहाज सूचिकृत भएर उडान अनुमति समेत पाइसकेको छ।
अमेरिकी आकाशमा उडान भरेर नेपालको नाम उोचो बनाउने प्रतिभा हुन्–प्रमोद रेग्मी। काठमाडौँमा हुर्केका र पढेका प्रमोद रेग्मी २३ वर्षको उमेरमा २०५४ सालमा अमेरिका पुगेका हुन्।
पेसाले सुरूमा इन्जिनियर रहेका प्रमोदलाई सानैदेखि पाइलट बन्ने रहर थियो। अमेरिकाको अरिजोना राज्यको फिनिक्स सहरका स्थायी निवासी प्रमोदले पाइलट कोर्श पनि पूरा गरेर उडान भर्ने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। पाइलट लाइसेन्स बनाएर जहाज उडाउन सुरू गरेपछि प्रमोदको मनमा जहाज नै बनाउने हुटहुटी सुरू भएको हो।
सानैदेखि जिज्ञासु र मेहनती स्वभावका प्रमोदलाई जोखिमयुक्त काम गर्न र केही नयाँ सिर्जना गर्न निकै मन पर्छ। त्यसकै उपजमा उनले आफ्नै ग्यारेजमा डेढ बर्ष लगाएर जहाज बनाएर अमेरिकी आकाशमा उडाएरै देखाए।
प्रमोद काठमाडौँ स्थित बालाजुमा जन्मिएका हुन्। तरुण माबिबाट एसएलसी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट आधारभूत प्राविधिक शिक्षा र त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेपछि थप अध्ययको लागि प्रमोद अमेरिका प्रस्थान गरेका हुन्।
अमेरिका पुगेपछिका सुरूका दिन निकै संघर्षपूर्ण बिते। अमेरिकाको मेसा टेक्निकल स्कुलबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरेपछि उनको अवस्था विस्तारै सुधारिदै गयो। इन्जिनियरिङ पेसा चल्दै गर्दा उनले पाइलट कोर्श पनि पूरा गरे र लाइसेन्स लिए। जहाज उडाउँदै गर्दा उनको मनमा जहाज नै बनाएर छाड्ने अठोट अंकुराउँदै गयो।
अठोट यति कठोर भैदियो कि, त्यो पूरा गर्नका लागि प्रयाप्त आर्थिक स्रोत र प्राबिधिक सामग्री सबैभन्दा ठूलो चुनौती थियो। त्यसमाथि अध्ययन, अनुसन्धान र किठन परिश्रमको कुरै छाडौँ। तर आँटेपछि गरिछाड्ने स्वभावका प्रमोदका लागि पैशाको जोहो हुँदै गयो, प्राबिधिक सामान पनि अमेरिका र अन्य देशबाट जुटाउँदै जहाजको आकार दिँदै गए। नेपालमा भएको भए जहाज बनाउनका लागि चाहिने सामग्री ल्याउनकै लागि डेढ वर्ष लाग्ने बताउँदै प्रमोद भन्छन्, आफ्नो देशमै यो काम गरेर देखाउने दिन कहिले आउला?
डेढ वर्षसम्म सम्पर्कविहीन जस्तै भएर प्रमोदले ग्यारेजको बन्द कम्पाउण्डमा लगातार जहाजको आकार विस्तार गर्दै गए। डेढ बर्षबीचमा उनलाई भेट्न परिवारका सदस्य पनि ग्यारेजमै पुग्नु पर्थ्यो। आँटेको काम गरिछाड्ने प्रमोदले अन्ततः जहाज तयार पारेरै छाडे। जहाज बनाउँदाको क्षण उनले सिसी टिभिमा रेकर्ड गरिराखेका थिए।
कुल लागत डेढ करोड नेपाली रुपैयाँमा बनेको जहाज अन्ततः ग्यारेजबाट हवाइ मैदानमा पुग्यो। जुन १४ २०१८ मा जहाजले पहिलो उडान भर्यो र सफलतासाथ अमेरिकी सरकारको हवाइ विभागमा सूचिकृत हुँदै नियमित उडान अनुपति पनि पायो।
विदेशी भूमीमा आफ्नो तिक्ष्ण प्रतिभा र अथक परिश्रम गरेर आफूसँगै देशको नाम उचाइमा पुर्याउने प्रमोद रेग्मीलाई यो सफलताको लागि हार्दिक बधाइ। प्रमोदको यो उत्कृष्ट प्रतिभाको सम्मानमा कृपयाँ यो भिडियो सक्दो धेरैमाझ फैलाउन मद्दत गर्नुहोला। धन्यवाद।
(भिडियो)