धानपछि झापा रवर र सुपारीको पनि ‘जोन’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २८ गते ७:०३

बिर्तामोड । धानपछि झापालाई रवर र सुपारी खेतीका लागि पनि जोन जिल्ला घोषणा गरिएको छ । पछिल्लो समय रवर र सुपारी खेतीमा कृषक आकर्षित भएसँगै उत्पादन पनि राम्रो हुन थालेपछि सरकारले रवर र सुपारी खेतीलाई जोन जिल्ला घोषणा गरेको हो । सरकारले यस अघि झापालाई २०७३ साउनमा धान सुपरजोन जिल्ला घोषणा गरेको थियो ।

झापामा २०४८ सालबाट रबर खेतीको शुरुवात भएको थियो । हाल जिल्लाको २ सय ८० हेक्टर क्षेत्रफलमा रवर खेती हुँदै आएको छ भने रवर खेतीमा झण्डै १ सय ५० भन्दाबढी कृषक आवद्ध छन् । तत्कालीन शनिश्चरे गाविस–३बाट शुरु भएको रवर खेती हाल झापाका तीन सामुदायिक वनसहित तत्कालीन बुधबारे, शनिश्चरे, धाइजन, पृथ्वीनगर, घेराबारी, राजगढ, खुदुनाबारी, सुरुङ्गा लगायतका स्थानमा हुँदै आएको छ ।

झापा, मोरङ र सुनसरीमा मात्रै १५ हजार हेक्टर क्षेत्रफलमा रवर उत्पादन हुने गरेको साना किसान प्राकृतिक रवर उत्पादक संघले जनाएको छ । २०४१ सालमा गोरखामा गोरखकाली रवर उद्योग स्थापना भएसँगै झापामा रवर खेती हुन थालेको बताइन्छ । झापामा मासिक १० टन रवर उत्पादन हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष झापामा एक करोड ४४ लाख रुपैयाँ वरावरको रवर उत्पादन भएको बताइएको छ । नेपालमा वार्षिक १५ अर्व रूपैयाँ बराबरको रवर आवश्यक भए पनि नेपालमा उत्पादित रवरले ५ प्रतिशत मात्र हिस्सा ओगटेको बताइन्छ ।

पछिल्लो समय झापामा रवर खेती फस्टाउँदै गएपछि झापालाई रवर जोन घोषणा गरिएको हो । नगदे वालीका रुपमा चिनिएको रवर खेती सामुदायिक वनले समेत लगाउन शुरु गरेपछि झापामा रवर खेतीको सम्भाव्यतालाई अध्ययन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रवर जोन घोषणा गरेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए । डाँगीका अनुसार मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, दमक नगरपालिका र वुद्धशान्ति, कचनकवल र वाह्रदशी गाउँपालिकालाई रवर खेतीका विषयमा छलफलका लागि पत्राचार गरिएको छ । रवर खेतीका विषयमा जिल्ला समन्वय समिति झापामा साउन २८ गते अन्तरक्रिया गरिँदैछ ।

नेपाली बजारमा रवरको अत्यधिक माग रहेकाले पूर्वी नेपालको झापालाई रवर उत्पादनका लागि सरकारले प्राथमिकतामा राखेको बताइएको छ । रवरको बिरुवा लगाएको सातबर्ष पछिबाट उत्पादन (चोप) दिन शुरु गर्ने र यसले २५ वर्षसम्म निरन्तर आम्दानी दिइरहने भएकाले कृषक रवर खेतीतर्फ आकर्षित भएको अर्जुनधारा नगरपालिका कृषि शाखा प्रमुख शालिकराम भट्टराईले बताए ।

दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको मानिने रवर खेती २१देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने गरेको विज्ञहरु बताउँछन् । रबरबाट टायर, बेलुन, कण्डम, इलेजर लगायतका सामग्री निर्माण हुने गरेको छ । रबर सबैभन्दा बढी अक्सिजन फ्याँक्ने र कार्वन सञ्चित गर्ने पाँचौंं वनस्पति हो ।

जिल्लाका कृषकलाई लक्षित गर्दै यस अघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले रवन प्रशोधन भट्टी–धुँवा घरमा अनुदान दिएको थियो । राष्ट्रिय औद्योगिक वाली विकास कार्यक्रममार्फत तीन जना र जिल्ला कृषि विकास कार्यालयले दुई जनालाई अनुदान दिएको थियो । रवर प्रशोधन भट्टी (धुँवा घर) निर्माणमा अनुदान पाउने कृषकहरुमा बालकृष्ण सापकोटा घेरावारी–९, चन्द्रप्रकाश दाहाल पृथ्वीनगर–४, प्राकृतिक रवर सहकारी संस्था वुधवारे, ओमप्रकाश वास्तोला वुधवारे–७ र शान्तिराम चिमरिया धाइजन रहेका छन् । कृषककोे सहजताका लागि ‘रवर स्मोक हाउस’ निर्माणमा सहयोग पु¥याइरहेको बताइएको छ । जमिन बाँझो रहँदै गएको क्रममा चुरे क्षेत्रको तल्लो भू–भाग र खाली रहेको सामुदायिक वन क्षेत्रमा समेत रवर खेती गर्न सकिने बताइएको छ ।

यता झापा, मोरङ, सुनसरी र इलामलाई सुपारी खेती हुने मुख्य जिल्लाका रुपमा चिनिएको छ । त्यसमध्ये झापा सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्ला हो । रवरसँगै झापालाई सुपारी जोन घोषणा गरिएको छ । झापामा २ हजार ६८५ हेक्टर जमिनमा सुपारीको खेती हुँदै आएको छ । जसबाट बार्षिक ९ हजार सात सय ७२ मेट्रिक टन सुपारी उत्पादन हुने गरेको बताइन्छ । झापामा मोहितनगर, हिरहिल्ली, सुमङ्गला, मङ्गला, श्रीमङ्गला, काइकुची लगायतका जातका सुपारी खेती हुँदै आएको छ ।

झापाबाट प्रशोधित सुपारी भारत निर्यात हुँदै आएको छ । सुपारी खेतीले बिदेशी मुद्रा आर्जन हुने, व्यापार घाटा कम गर्न सहयोग पुग्ने र अन्य वालीको तुलनामा बढी आम्दानी दिने भएकाले सरकारले सुपारी कृषकलाई प्रोत्साहन दिएको छ । भारत लगायतका मुलुकमा सुपारीको दाना निकासी हुन थालेपछि किसानहरू यसको व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

वि.सं. १९८८ सालमा भारतको आसामस्थित वियालीबाट गङ्गाधर घिमिरेले झापाको शान्तिनगरमा सुपारीका केही विरुवा ल्याएर रोपेसँगै सुपारी खेतीको शुरुवात भएको मानिन्छ । कुनै बेला धान र चिया खेतीका लागि प्रसिद्ध झापा जिल्ला केही वर्ष यता सुपारी खेतीबाट पनि मनग्य आम्दानी हुन थालेपछि सरकारले सुपारी जोन घाषणा गरेको हो ।

दश बर्षे परियोजनामा आधारित प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत झापाका तत्कालीन सातवटा गाविसलाई धान सुपरजोन गाविस घोषणा गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७३ श्रावणदेखि २०८२ असारसम्म योजना सञ्चालनमा रहेको छ ।

२०७५ साउन २८ गते ७:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर