भक्तपुरमा चक्कु देखाएर दिउँसै छ लाख लुटियो

आजको खबर   |    प्रकाशित : २०७५ साउन १६ गते २:०१

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर ६ लाख रुपैयाँ लुटेका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले मंगलबार बिहान ११ ः २५ बजे लुटपाट गरेका हुन् ।

दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिँडेरै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईँले बताए ।

निर्माण व्यवसायीसमेत रहेका बजगाईँले भने, ‘पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जाँदै थिए, मोटरसाइकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होसहवास नै उड्यो ।’

घटना भए लगत्तै महानगरीय प्रहरी परिसर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाई) ले घटनाको तत्काल अनुसन्धान गरी लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गरे।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले घटनाको जानकारी आएलगत्तै चारैतर्फ कडाईका साथ जाँचसहित लुटेराको खोजी भइरहेको बताए ।

२०७५ साउन १६ गते २:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर