अविरल वर्षाका कारण जलेश्वर कारागार जलमग्न
आजको खबर | प्रकाशित : २०७५ साउन १६ गते १३:०१

गौशाला । विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ। आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताए।
करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको जेलर ठाकुरले बताए।
चार दिनदेखिको अविरल वर्षाका कारण कारागारको चारैतिर पानी नै पानी भएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ।
वर्षाको पानीले कारागारको बाहिर मुलगेटभित्र कैदीबन्दी प्रवेश गर्ने मुलढोकासम्म पानी भरिएको चौकीदार श्रीनारायण महतोले बताए। यसरी लगातारको वर्षाका कारण कारागार जलमग्न भएपछि कारागारको कामकाज प्रभावित भएको छ।