प्रहरीको निर्देशन : कुकुरलाई जुत्ता किनिदिनु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १:४१

बिबिसी । स्वीट्जरल्याण्डको ज्युरीख शहरमा प्रहरीले कुकुरका लागि जुत्ता किन्न तिनका मालिकलाई आग्रह गरेका छन् । समाचारहरूमा जनाइएअनुसार उच्च तापक्रमबाट कुकुरको पैतला जोगाउन त्यस्तो आग्रह गरिएको हो ।

ज्युरीख प्रहरीले कुकुरको पक्षमा एउटा अभियान चलाएको प्रशारण संस्था एसआरएफले जनाएको छ । कुकुरका मालिकहरूलाई चर्को गर्मीमा उनीहरूका चारखुट्टे साथीलाई जोगाउने काइदाबारे प्रहरीले सिकाइरहेका छन् । चर्को घामले तातेको फुटपाथमा हिँडनु कुकुरको निम्ति पीडादायी हुनसक्ने तर्क प्रहरीको छ ।

युरोपभर केही साता यता निकै गर्मी बढेकोबेला तापक्रम उच्च विन्दुमा पुगेको देशमध्ये स्वीट्जल्याण्ड पनि हो । जहाँ तापमान सन् १८६४ मा मापन सुरू गरिएयताकै सबैभन्दा बढी पुगेको छ । जुलाईमा त्यहाँको तापक्रम ३० डिग्री सेल्सियस आसपास थियो ।

स्वीसइन्फो न्युज वेबसाइटले देशका अन्य भागले खडेरीको सामना गर्नु परेको जनाएको छ ।

ज्युरीख प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार ३० डिग्री सेल्सियस तापक्रम पुग्दा जमिनमा ५० देखि ५५ डिग्री सरह महसुस हुने भएकाले यसले खासगरी कुकुरलाई असहज पार्न सक्छ ।

उनले एसआरएफसँग भने, ूजब कुकुर तात्तिएको पीच सडकमा हिँड्छ, खाली खुट्टामा मानिस हिँड्दा झैं उसको पनि पैतला डामिन सक्छ । त्यसैले चर्को गर्मीमा कुकुरले पनि जुत्ता लगाउनु पर्छ ।

ज्युरीख शहरका प्रहरीले कुकुरलाई बाहिर लग्नुअघि जमिनमा हत्केला उल्टो पारी पाँच सेकेण्ड राखेर कतिको तातो छ भन्ने जाँच गर्न कुकुर मालिकहरूलाई सल्लाह दिएका छन् ।

उनीहरूले कुकुरको निम्ति पर्याप्त पिउने पानी भएको सुनिश्चित गर्न र घामले तातेको कारमा कुकुरलाई नछोड्न पनि सुझाएका छन् । प्रहरीले फेसबुकमार्फत भनेको छ, ’के निकै गर्मी छरु त्यसो भए तातेको सडक छल्नुस्, ठूला कुकुरलाई बुट लगाइ दिनुस् र सानालाई आफैँ बोक्नुस् ।’

सयौं फेसबुक प्रयोगकर्ताले प्रहरीको उक्त अभियानको प्रशंसा गरेका छन् । जसमा तातोबाट जोगाउने जुत्ता लगाएका कुकुरहरूका तस्बीरहरू राखिएका छन् । सुँघेर अपराध अनुसन्धानमा सघाउने कुकुरलाई पनि जुत्ता लगाइदिने गरेको प्रहरीले जनाएको छ ।

२०७५ साउन २१ गते १:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर