किन हुन्छ दाहिनेभन्दा देब्रे हातको कम प्रयोग

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ६:३८

हातले केही समाउन सिक्ने बेला बच्चाहरूले दुवै हातको प्रयोग गर्छन् । तर बल बढ्दै जाँदा उनीहरूले दुइटै हातको प्रयोग गर्न थाल्छन् । कतिपय बच्चाले दाहिने हातको प्रयोग बढी गर्छन् भने कतिपयले देब्रे हातको । हामी बच्चालाई दाहिने हातको प्रयोग गर्न सिकाउँछौँ किनकि मान्छेहरूले त्यही हातको बढी प्रयोग गर्छन् । तर त्यसको बावजुद केही बच्चाहरू देब्रे हातकै प्रयोग गर्छन् । यदि तपाईँको बच्चाले पनि त्यस्तो गर्छ भने त्यसो गर्ने ऊ एक्लो होइन ।

त्यस्ता धेरै बच्चा छन् जसले देब्रे हातको प्रयोग गर्छन् । हुन त संसारमा देब्रे हातको प्रयोग गर्नेहरूको सङ्ख्या थोरै नै छ । संसारमा देब्रे हातको प्रयोग गर्ने बच्चाहरूको सङ्ख्या किन कम होला ? हाम्रो शरीरमा एउटा विशेष खालको असन्तुलन छ । फोनमा कुरा गर्दै केही लेख्नुपरेमा हामी देब्रे कानमा फोन राख्छौँ र दाहिने हातले लेख्छौँ ।

अर्थात् हामीलाई जसरी सजिलो हुन्छ त्यसरी नै काम गर्छौँ । शरीरका अङ्गको पनि हामीले त्यसैगरी नै प्रयोग गर्छौँ । सालाखाला ४० प्रतिशत मानिसले देब्रे कानको, ३० प्रतिशतले देब्रे आँखाको र २० प्रतिशतले देब्रे खुट्टाको प्रयोग गर्छन् । तर हातको कुरा गर्नुपर्दा संसारमा केवल १० प्रतिशत मानिसले मात्रै देब्रे हातको प्रयोग गर्छन् ।

त्यस्तो किन होला ? – मान्छेले जस्तै जनावरले पनि कतिपय कामका लागि देब्रे र कतिपयका लागि दाहिने हातको गर्छन् । उदाहरणका लागि चिम्पाञ्जी । तर वैज्ञानिक अनुसन्धानबाट आधा सङ्ख्यामा चिम्पाञ्जीहरूले देब्रे हातको र आधा सङ्ख्यामा दाहिने हातको प्रयोग गर्ने गरेको देखिएको छ ।

मान्छेको कुरा गर्नुपर्दा १० जनामा एकजनाले मात्रै देब्रे हातको प्रयोग गर्छन् । मान्छेले दाहिने हातको प्रयोगमा कहिलेदेखि जोड दिन थालेका होलान् ? हामीले हाम्रा हातको प्रयोग शुरू गरेकोबारे जान्न मान्छेको विकासको इतिहास खोतल्नुपर्ने हुन्छ । ‘नियान्डर्थल’ मानवका दाँतबाट यसको सङ्केत मिल्छ । हातको प्रयोग मज्जाले सिकिसके पनि तिनीहरू केही अव्यवस्थित थिए । दाँतले नै कोतरेर तिनीहरूले मासु खान्थे । मासु काट्नलाई तिनीहरूले अलि बढी बल चाहिने हातको प्रयोग गर्थे ।

तिनीहरूले जसरी औजारको प्रयोग गर्थे त्यसको बनोट हेरेर तिनीहरूले कुन हातले खाना समाउँथे र कुन हातले औजारको प्रयोग गर्थे भन्नेबारे अनुमान लगाउन सकिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार ‘नियान्डर्थल’ मानवले पनि दाहिने हातको बढी प्रयोग गर्थे । तिनीहरूमा पनि १० जनामध्ये एकजनाले मात्रै देब्रे हातको प्रयोग गर्थे । जुन प्रवृत्ति अहिले मान्छेमा देखिन्छ ।

देब्रे वा दाहिने हातको प्रयोग गर्न मान्छेलाई केले प्रेरित गर्छ भन्ने कुरा पत्ता लगाउन अनुसन्धानकर्ताले प्रयास जारी राखे पनि अहिलेसम्म उत्तर भेटिसकेका छैनन् । प्रश्न यो पनि छ कि देब्रे हातको प्रयोग गर्ने मानिसहरूको जीवनमा के त्यसको कुनै असर हुन्छ? यो विषयमा लामो समयदेखि बहस चल्दै आएको छ।

हाम्रो देब्रेतिरको मस्तिष्कले दाहिने हातलाई र दाहिनेतिरको मस्तिष्कले देब्रे हातलाई नियन्त्रण गर्ने गरेको बताइन्छ। युनिभर्सिटी कलेज लण्डनस्थित मनोविज्ञान विषयका प्राध्यापक क्रिश म्याकमेनसका अनुसार देब्रे हातको प्रयोग गर्नेहरू बढी क्षमतावान् हुन्छन्।

अरूभन्दा भिन्न – उनको यो बुझाइप्रति अरू अनुसन्धानकर्ता चाहिँ सहमत देखिँदैनन् । अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक डोरोथी बिशप देब्रे हातको प्रयोग गर्छिन् । उनलाई लाग्छ उनी अरूभन्दा भिन्न छिन् ।

उनी भन्छिन्, “डिस्लेक्सिया अर्थात् पढ्न-लेख्नमा हुने समस्या र अटिज्म जस्ता रोग देब्रे हात प्रयोग गर्नेहरूलाई हुने गर्छ भन्ने दावीहरू पनि छन् । अर्कोतर्फ सकारात्मक कुरा पनि छ- शिल्पकार र सङ्गीतकारहरूले धेरैजसो देब्रे हातको प्रयोग गर्छन् ।” विज्ञानले यतिसम्म फड्को मारिसकेको छ कि बच्चा गर्भमै रहँदा जन्मेपछि उसले देब्रे अथवा दाहिने कुन हातको प्रयोग गर्नेछ भनेर थाहा पाउन सकिन्छ ।

उत्तरी आयरल्याण्डको क्वीन्स युनिभर्सिटीका डा. पीटर हेपरले यसबारे पत्ता लगाएका छन् । उनले गर्भमा रहेका बच्चाहरूको अल्ट्रासाउण्ड गर्दा १० जनामध्ये नौजनाले दाहिने हातको बूढीऔँला चुस्ने गरेको पाए । जबकि एकजनाले मात्रै देब्रे हातको बूढीऔँला चुस्ने गरेको देखियो । जन्मपछि ती बच्चाहरूले गर्भमा रहेको बेलाजस्तै हातको प्रयोग गरेको देखियो अर्थात् नौ जना दाहिने हातको प्रयोग गर्ने भए भने एकजना देब्रे हातको । बीबीसी

२०७५ साउन २२ गते ६:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर