दसौं सन्तानमा समाजका लागि छोरा जन्माएँ !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते ५:२०

सल्यान । सल्यानको कुमाख गाउँपालिका–२, डाँडाकटेरीकी डिल्ली शाहीसँग ९ छोरी थिए। ४० वर्षको उमेरमा उनले दुई दिनअघि दसौं सन्तान जन्माइन् । ‘सबैले छोरीमात्र जन्माई भनेर हेलाँ गर्थे, अब त सबैको मुख बन्द भएको छ,’ जिल्ला अस्पतालमा उनले भनिन्, ‘सुत्केरी हुँदाहुँदा ज्यान गले पनि घर परिवार र समाजका लागि छोरा जन्माएँ।’

१६ वर्षको उमेरमा गाउँकै डिल्लीबहादुर शाहीसँग विवाह गरेकी उनका नौमध्ये ३ छोरीको विवाह भइसकेको छ। तिनीहरूबाट उनले नातिनातिनी पनि देखिसकेकी छिन्। कान्छी छोरी दुई वर्षकी छन्। ‘अब त सन्तानको रहर पुग्यो, बन्ध्याकरण (नरप्लान्ट राखेको पाखुरा देखाउँदै) पनि गरिसकें,’ उनले भनिन्, ‘अहिलेसम्मको दुस्ख, पीडा पनि सबै बिर्सिसकियो।’

सन्तानको रहर पुगेपछि उनले श्रीमानलाई भ्यासेक्टोमी गर्न आग्रह गरेकी थिइन्। तर, मानेनन्। त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीको आग्रहमा उनी आफैं अघि सरिन् नरप्लान्ट राख्न। स्वास्थ्यकर्मीले अब डिल्लीलाई थप सन्तान जन्माए आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्नेतर्फ सचेत गराएका पनि छन्।

५० वर्षका श्रीमान् डिल्लीबहादुरले भने, ‘यति धेरै सन्तान जन्माउने रहर त थिएन, तर समाजलाई देखाउनकै लागि यस्तो जोखिम लिनुपर्‍यो।’ डिल्लीबहादुरको आर्थिक स्थिति पनि त्यति राम्रो छैन। खेती–किसानी र ज्याला–मजदुरी गरेर शाही परिवारले परिवार पाल्दै आएको छ। स्रोतःई कान्तिपुर

२०७५ साउन २३ गते ५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर