नेपाल भ्रमण वर्ष सफल पार्न बेलायतमा लामो दूरीको पैदलयात्रा

आजको खबर   |    प्रकाशित : २०७५ साउन २४ गते १:३९

बेलायत । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रबर्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ।

‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब ४ घण्टा नेपालमय बनाएको थियो। करिब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो। वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले माउण्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गराउँदै यसै कारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए।

पोइज काउण्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साइनो गाँस्न लागिएको जानकारी दिए। ‘यसैलाई आधिकारिकता दिन आगामी फेबु्रअरी १५ जनाको टोली लिएर हामी नेपाल जानेछौँ। उनले थपे।

ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले साइनो गाँस्ने कामले मुलुकले फाइदा लिन सक्ने बताउँदै नेपाल प्रबर्धनात्मक कार्यक्रममा बेलायतवासीका तर्फबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिए।

पोखरेली मञ्च बेलायतको आयोजनात्मक र ब्रेकन नेपाली समाजको सक्रियतामा शनिबार भएको उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट १३ पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा, १६ विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागार्इँ, वि विल राइज फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र निर्देशक निर्मल श्रेष्ठ तथा सुरज गुरुङसमेत वेल्स पुगेका थिए।

बेलायतमा आयोजित सो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानमा टेवा पुग्ने आशा रहेको फाउण्डेशनका संस्थापक तुलसीको भनाइ छ। करिब १५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीले नेपालबारे जिज्ञासा राखेका थिए।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धनात्मक अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताए।

अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउँदै दूतावासले २०२० मा सो संख्या एक लाख पुर्याउने लक्ष्य राखिएको जनाएको छ। रासस

२०७५ साउन २४ गते १:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर