आज बकर इद : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ६ गते १:११

काठमाडौं । मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) मनाउँदैछन्।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिन्छन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले सो अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोराले नमानेपछि आकासवाणी गरेर ईश्वरले छोराको सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली दिने चलन चलिआएको बताइन्छ।

बलीको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ। बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ। नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपायाको बली दिने गरिन्छ। आजको दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ।

आजको दिनमा मुस्लिम धर्मालम्बीहरू मस्जिदमा जम्मा भई विशेष नमाज पढ्छन्। नमाज पढिसकेपछि घर–घरमा गएर बली दिने गर्छन्। बकर इद तीन दिनसम्म मनाइन्छ।

बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

एकताको वातावरण मजबुत बनाउन मद्दत गरोस्ः प्रम

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) पर्वको अवसरमा हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गरेका छन् । उनले सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।

बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाएका हुन्।

उनले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनको शुभकामना

उपपराष्ट्रपति नन्दबहादुर पुनले बकर–इदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै इस्लाम धर्मावलम्बीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले आज जारी गरेको शुभकामना सन्देशमा सो पर्वका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन् ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच आपसमा सुदृढ एकता कायम राख्ने र देशमा बकर–इद (इदुल जोहा) पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा संवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सन्देशमा नेपालको विविध धार्मिक तथा साँस्कृतिक मान्यताको धनी हाम्रो देशमा मनाइने बकर–इद (इदुल जोहा) पर्वको विशेष महत्व रहेको र यस पर्वका अवसरमा मुलुकमा स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण मद्दत पुग्ने उल्लेख छ ।
समाभुख महराद्वारा बकर इदको शुभकामना

सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सभामुख महराले आज जारी गरेको शुभकामना सन्देशमा बलिदानी र त्याग, समर्पण शान्ति, समृद्धि, भाव र सत्मार्गमा अगाडि बढ्न विश्वमा रहेका सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएको छ ।

सन्देशमा भनिएको छ, ‘हाम्रोजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधताले धनी देशमा मनाइने यस्ता पर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् ।.’

सन्देशमा भाषा, धर्म, परम्परा, रीतिरिवाज, कलासंस्कृति देशको पहिचान, सभ्यता देशको परिचायक भएको र यस पर्वले विविधतासहित आपसी सद्भाव, भ्रातृत्वलाई जोगाउँदै धार्मिक सहिष्णुता एवं राष्ट्रिय एकतालाई मजबुत बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

सभामुख महराले सन्देशमा भनेका छन्, ‘इस्लाम पात्रो हिजारी संवत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको १०औँ दिनमा मनाइने बकर इद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भ्रातृत्व, त्याग, सेवाभाव र सम्मानको भावना पैदा गर्ने मैले विश्वास लिएको छु ।’

२०७५ भदौ ६ गते १:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर