झापाको जामुनखाडीमा अवैध रुपमा रुख कटान : आपूर्तिको काठ धमाधम चिरान

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते ९:०९

झापा । झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान भएको पाइएको छ । वन क्षेत्रमा कागजातबिनाका साल र सिसौका गोलिया भेटिएपछि यहाँ अवैध रुपमा रुख कटान भएको पाइएको हो । वन क्षेत्रमा भेटिएका काठको कुनै लगत र कागजपत्र छैन ।

वनमा अवैध रुपमा साल तथा सिसौका रुख कटान भइरहेको छ भन्ने सूचना पाएपछि सेक्टर वन कार्यालय सुरुङ्गा, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्ताको टोलीले वन क्षेत्रको अनुगमन गरेको कनकाई–२ उपभोक्ता दीपक चापागाईंले जानकारी दिए । ‘अवैध रुपमा रुख काटिएको सूचना पाएपछि उपभोक्ताको टोलीले अनुगमन ग¥यौँ’, उनले भने, ‘साल र सिसौका रुखका गोलिया भेटियो, न रुख कटान गर्ने निर्णय गरिएको छ, न त प्रक्रिया पु¥याइएको छ ।’

वन क्षेत्रमा सालका ३५.५ किवि सखुवा र ९५ किवि सिसौका गोलिया भेटिएको छ । फेला परेको काठ उपभोक्ताको रोहवरमा काठको मुचुल्का बनाएर वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङ्गाका प्रमुख शिवनारायण यादवले बताए । उनले काठको कागजात नभएकाले अनुसन्धान भइरहेको बताए । वनमा उपभोक्ताहरु प्रेमप्रसाद अधिकारी, दीपक चापागाईं, वनका संस्थापक अध्यक्ष केदार गिरी, भानुभक्त खबास, अर्जुन गिरी लगायतको टोलीले अनुगमन गरेको हो ।

विगत एक वर्षदेखि वनको आन्तरिक लेखा परीक्षण समेत गरिएको छ । तीन÷तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने भए पनि हालसम्म एकपटक पनि आन्तरिक लेखा परीक्षण नगरिएको उपभोक्ताको भनाइ छ । ‘वनले न कार्ययोजना भएको न त बजेट नै विनियोजन गरेको छ’, चापागाईंले भने, ‘अरु त अरु आन्तरिक लेखा परीक्षण समेत गरिएको छैन ।’

जिल्ला वन कार्यालयले आपूर्तिका लागि तोकेको काठ पनि परियोजन परिवर्तन गरी समूहले आफूखुसी काठ चिरान गरेपछि विवाद भएको छ । जिल्ला वनले आपूर्तिका लागि छुट्याइएको काठ अन्य प्रयोजनमा प्रयोग गर्न पाइँदैन । तर, वन समूहले कनकाई– स्थित राजु प्रसाईंको समिल काठ चिरान गरिरहेको अवस्थामा देखेपछि विवाद सिर्जना भएको छ ।

यता, वन समूहका अध्यक्ष ख्याम सिटौलाले भने जंगलमा ढलेका रुखहरु हराउने भयले आफूले सुरक्षित गरेको र यसका लागि वन जिल्ला वनबाट अनुमति लिन ढिलाई हुनु कमजोरी रहेको बताए । उनले सिमसार क्षेत्रमा रहेका टहरा जीर्ण भएकाले सोको मर्मत र थप टहरा निर्माणका लागि आपूर्तिको काठ चिरान गर्न लगाएको स्वीकार गरे । ‘काठ चिरान गर्दा समिलमा उपभोक्ता समितिका पदाधिकारी बीच भनाभन भए छ’, उनले भने, ‘विवाद मिलिसक्यो ।’ -सन्तोष शर्मा

२०७५ भदौ ११ गते ९:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर