‘बिमस्टेक सम्मेलनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि चम्कियो’

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १८ गते १२:५२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको बताएका छन्। प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा चम्काउन महत्वपूर्ण भूमिको खेलेको दाबी गरे।

सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन सो सम्मेलनले योगदान दिएको निष्कर्ष सुनाए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको राष्ट्रिय प्राथमिकतालाई स्थापित गराउन पनि सम्मेलन सफल भएको दावी गरे।

बिमस्टेक मूल तयारी समितिका अध्यक्ष समेत रहेका उनले सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

समिक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँगको द्विपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष निकालेको छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका मन्त्रालय, सुरक्षा निकाय, संचारकर्मीलगायतलाई धन्यवाद दिएका थिए।

गत भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक चौंथो शिखर सम्मेलनले १८ बुदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको थियो। सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्नेलगायतका प्रस्तावलाई पारित गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीको प्रसंसा गरिएको छ।

२०७५ भदौ १८ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर