सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २२ गते १६:१७

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ।

म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ।

म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत कागजपत्र नियन्त्रणमा लिने, समयमै काममा नपठाउने र त्यसबीचमा कामदारले नजाने इच्छा व्यक्त गरेमा सबै कागजात फिर्ता नदिई दुःख दिनेजस्ता घटना बढ्दै गरेको जनाउँदै कामदारको राहदानी कम्पनीमा राख्दा कम्पनीले बुझिलिएको भरपाई दिने व्यवस्था अनिवार्य गर्न विभागले निर्देशन दिएको छ।

कामदारको राहदानी कम्पनीमा सङ्कलन भएपछि अनिवार्य रुपमा नाम, राहदानी नम्बरको अभिलेख राख्नुपर्ने व्यवस्थालाई कडाइ गरिएको छ।

म्यानपावर कम्पनीका आधिकारिक व्यक्ति आफ्नो परिचयपत्र लगाएर बस्नुपर्ने व्यवस्था गरिएको छ । अनाधिकृत व्यक्तिलाई कम्पनीमा राखी कामदारसँग लेनदेन र अन्य कुनै प्रकारको कारोवार गर्न लगाई कामदार ठगी गरेमा म्यानपावर कम्पनी स्वयम् जवाफदेही हुने विभागका महानिर्देशक दिलीपकुमार चापागाईले जानकारी दिए।

कामदारलाई ‘श्रम मात्र गरिदिएको’ र बाँकी अन्य काममा कामदार स्वयं जवाफदेही हुने जस्ता गलत सम्झौता गराई विदेश पठाउने गतिविध तत्काल बन्द गर्नसमेत विभागले निर्देशन दिएको छ।

म्यानपावर कम्पनीमा आवश्यक मात्रामा फर्निचर, स्वच्छ पिउने पानी र आगन्तुक कक्षसहित न्यूनतम पूर्वाधारको व्यवस्था गर्नुपर्ने, कर्मचारीले अनिवार्यरुपमा परिचयपत्र लगाउनुपर्ने तथा जनसम्पर्क अधिकारीको तस्वीरसहितको विवरण सबैले देख्ने ठाउँमा राख्नुपर्ने छ।

‘भिजिटिङ कार्ड’मा कम्पनीको इजाजत र सम्पर्क नम्बर, कम्पनी सञ्चालकको नाम र ठेगाना स्पष्ट खुलाइ उक्त कार्डको जानकारी विभागलाई गराउनुपर्ने छ।

सबै म्यानपावर कम्पनीले अनिवार्यरुपमा कम्पनीको बेवसाइट बनाई आफ्ना गतिविधि बेवसाइटमा अद्यावधिक गर्न पनि विभागले निर्देशन दिएको छ। वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम, निर्देशिका र परिपत्रको सङ्ग्रह कम्पनीको कार्यालयमा राख्नुपर्ने छ भने नागरिक बडापत्र, सूचनापाटी र उजुरी पेटिका सबैले देख्ने स्थानमा राख्नुपर्नेछ।

त्यस्तै विभागले कम्पनीमा कार्यरत कर्मचारीलाई शिष्टता÷आतिथ्यतासम्बन्धी अभिमुखीकरण तालीम दिनुपर्ने विभागले जनाएको छ।

२०७५ भदौ २२ गते १६:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर