पाँच महिनामा ७ सय १० बलात्कारका घटना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ११ गते १३:३३

काठमाडौं । गएको ५ महिनामा बलात्कारलागयत महिला हिंसाका घटनामा आश्चार्यजनकरुपमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ। गृहमन्त्री रामबहादुर थापाले बिहीबार संघीय संसदको महिला तथा सामाजिक समितिमा महिला हिंसाका घटनाबारे सरकारी तथ्यांक पेश गरेका हुन् ।

गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको समेत दावी गरे । बाँकि १० प्रतिशत घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता दोहो¥याए ।

गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानवीनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए।

गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे । उनले समिति समक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी गरे ।

बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न सरकारलाई सुझाव दिए ।

समितिकी सदस्य गंगा चौधरीले फासीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने काममा गम्भिर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ।

२०७५ असोज ११ गते १३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर