पूर्वमुख्यसचिव डा. भोजराज घिमिरेका ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ गजलकृति बिमोचन

आजको खबर   |    प्रकाशित : २०७५ असोज २६ गते ८:०९

काठमाडौं। पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्। बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे।

पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो ‘निर्बन्ध आकाश’। लोक र उच्चार्य समसामयिक लयमा लेखिएको कृति हो, ‘उन्मुक्त किनारा।’

नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि क्रियाशील संस्थाहरू अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीले आयोजना गरेको कार्यक्रममा ‘उन्मुक्त किनारा’ पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द÷बहरमै हुनुपर्ने मान्यता राख्ने बताए।

तर नेपाली गजलसाहित्यमा यहाँका लोकलय र समआक्षरिकरसममात्रिक लयको पनि प्रयोग हुँदै आएको उनको भनाइ थियो। अधिकारीले उन्मुक्त किनारामा सामाजिक र मानवीय जीवनका अनेक पक्ष विषय बनेर आएका बताए। उनले गजलमा लय, भाव वा शिल्पमध्ये एक पक्ष मात्र उत्कृष्ट भएर नहुने यी तीनै पक्षको उत्तम पालना हुनुपर्ने धारणा राखे।

निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्द/बहरमा लेख्नु चानचुने कुरा नभएको बताए। लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्द÷बहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्दरबहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए।

हरेक गजलको अन्त्यमा छन्द/बहरका सूत्र र विश्राम पनि दिइएकाले उक्त पुस्तक छन्द र बहरमा सिक्न चाहनेका लागि गुरु पुस्तक बन्नसक्ने समालोचक प्रभाती किरणको भनाइ थियो। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्द÷बहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे।

यसरी नै प्रा.डा. कृष्णहरी बरालले छन्दबहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए। छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे।

आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा चारवटा गजलकृति प्रकाशन गरेको सर्जक भोजराज घिमिरेको भनाइ थियो। पछिल्लो समय नेपाली गजलमा छन्द/बहरको व्यापक बहस र प्रयोग भएको देखेपछि आफूले पनि गजलको खास शास्त्रीयतालाई पछ्याउने कोसिस गरेको उनले बताए। पुस्तक बिक्रीबाट आएको सबै रकम अनाममण्डलीलाई दिने घोषणासमेत लेखकले गरे।

गजलकार घिमिरेले एक दर्जन बढी नवछन्दको निर्माण गरेर लेखेका गजल पनि निर्बन्ध आकाशमा समावेश गरेका छन्। गजलकारहरू जय गौडेल र राधा कणेलले निर्बन्ध आकाश कृतिबाट गजलहरू वाचन गरेका थिए।

२०७५ असोज २६ गते ८:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर