दशैँमा घर जाने यात्रुसँग बढी भाडा लिने सार्वजनिक यातायातलाई कारवाही

आजको खबर   |    प्रकाशित : २०७५ असोज २७ गते १४:५७

काठमाडौँ । बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारवाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। विभागले आज थानकोटमा अनुगमन थालेको हो।

“विभागले ७०० तोकेको स्थानमा रु एक हजार, रु ४०० तोकेको स्थानमा रु ६०० को चलानी गरेका सवारीलाई आज कारबाही गरियो, तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाईहरुसँग कति भाडा लियो भनी सोद्धा यात्रुले सही सूचना दिएनन्, कोही बोल्नै चाहेनन्”–उनले भने ।

काठमाडौँबाट जुम्लासम्मको भाडा रु दुई हजार ८०० तोकिएकामा तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रुबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ । यात्रुले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारवाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।

बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ। कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा रु ४८९ तोकिए पनि एक हजारसम्म व्यवसायीले उठाइरहेका छन्।

बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोको भाडादर ४०० तोकिएकामा रु एक हजार, कलंकीबाट पोखराको भाडा रु ४८५ मा रु ९००, काठमाडौँबाट चितवनसम्मको भाडा रु ४९० तोकिएकामा रु ९०० सम्म उठाइएको नागरिक अनुगमनका क्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले जानकारी दिए।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम चलिरहेको उनले बताए ।दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

२०७५ असोज २७ गते १४:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर