जलवायु परिवर्तनबाट नेपालको हिमालय क्षेत्र बढी प्रभावित

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १५:२०

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।

वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग खुला छलफलको उद्घाटन सत्रमा उनले जलस्रोतको मुहानका साथै जडीबुटीको भण्डार र जनजिविकाको माध्यम हिमालय क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्ने बताए। वातावरण क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता सम्मिलित उक्त छलफलबाट निस्कने सुझाव जलवायु परिवर्तनका असरसँग जुध्न मार्गनिर्देशक हुने र मुलुकको राष्ट्रिय नीति निर्माणमा समेत उपयोगी हुने उनको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनको असर नेपाल जस्ता मुलुकमा द्रुत गतिमा देखिन थालेकाले यसको न्यूनिकरणका लागि सबै एकजुट हुनुपर्ने बताए।

उनले जलवायु परिवर्तनका असरबाट बच्न नेपालले हरियाली प्रवद्र्धन, वृक्षरोपण, कार्वन सञ्चितिकरणलगायत क्षेत्रमा काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा युरोपेली सङ्घका राजदूत भिरोनिका कोडीले जलवायु परिवर्तनका असरबाट गरिब मुलुक बढी जोखिममा रहेको उल्लेख गर्दै सम्बन्धीत मुलुकसँगको छलफलबाट समाधानका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

युरोपेली इन्भेस्टमेन्ट बैङ्कका उपाध्यक्ष एन्ड्रिउ म्याक्डोवेलले जलवायु परिवर्तनको असरबाट वातावरणीय समस्याका साथै वन्यजन्तुसमेत प्रभावित भएको बताए।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) को पूर्वसन्ध्यामा सम्मेलनमा उठाउनुपर्ने विषयका सम्बन्धमा सुझाव सङ्कलनका लागि ‘तलनिया डाईलग’ गरिएको हो।

छलफल कार्यक्रम मुख्य रुपमा जलवायु परिवर्तनका क्षेत्रमा ‘हामी कहाँ छौँ, कहाँ जान चाहन्छाँै, र कसरी जान्छौँ’ भन्ने विषयमा अलग अलग सत्रमा सरोकारवालाको सुझाव लिइएको थियो ।

कार्यक्रममा नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो न्यून योगदान भए पनि जलवायु परिवर्तनको जोखिमबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको विषयलाई सम्मेलनमा प्रमुखरुपमा उठाउनुपर्ने सुझाव आएको छ।

कोप–२४ यही मङ्सिर १६ देखि २८ गतेसम्म डिसेम्बर २ देखि १४ सम्म० पोल्याण्डको काटोविसमा हुँदैछ । नेपालले जलवायु परिवर्तनका सम्बन्धित सरकारी तथा गैरसरकारी सरोकारवालासँग विभिन्न चरणमा छलफल गरी प्रतिवेदन तयार गरेको मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले जानकारी दिए । ‘तलनिया डाईलग’ का सुझाव पनि प्रतिवेदनमा समेटिने उनले बताए ।

कार्यक्रममा विज्ञहरुले जलवायु परिवर्तनका असरसँग जुध्न कृषि, वन, भू–संरक्षण, खानेपानी, सिँचाइ, फलफूल र पशुपालनलगायत क्षेत्रमा नेपालले स्थानीयस्तरमा गर्दै आएका मौलिक ज्ञानका बारेमा समेत विश्व जगतलाई सन्देश दिनुपर्नेमा सुझाव दिएका थिए।

जलवायु परिवर्तनका असरका कारण नेपालका हिमशिखर पग्लने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने तथा परिणामस्वरुप बाढीपहिरो, मरुभूमिकरण र खडेरीजस्ता प्रभाव देखिने गरेको छ।

२०७५ मंसिर ६ गते १५:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर