नाट्यसम्राट् बालकृष्ण सम काे छाेटाे जीवनी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २१ गते १६:१०

समरशमशेर तथा कीर्तिराज्यलक्ष्मी राणाका सुपुत्र बालकृष्णशमशेर जबराको जन्म १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो ।

बालकृष्ण समले दरबार हाइस्कुलमा दशौं कक्षासम्मको अध्ययन गरेपछि कोलकाताबाट म्याट्रिक गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा विज्ञान पढे । त्यसै बखत उनी सैनिक सेवाको कप्तानमा पनि प्रवेश भए । लेफ्टिनेन्ट कर्णेल भएपछि बालकृष्णले सैनिक सेवा छाडे ।

१९७० सालमा स्थापित ‘गोरखा भाषा प्रकाशिनी समिति’लाई बालकृष्णले नै ‘नेपाली भाषा प्रकाशिनी समिति’मा रूपान्तर गराए । केही कालसम्म उनी त्यही प्रकाशिनी समितिका अध्यक्ष भए । २००० सालभन्दा अघिदेखि नै उनी त्रिचन्द्र कलेजमा पनि नेपाली पढाउँथे ।

बालकृष्ण जनतासँग क्रमशः हिँड्न थाले । अनि उनले आपूmसँगसँगै आफ्ना छोरा जनार्दनलाई पनि हिँडाउन थाले । त्यतिबेला उनीहरू जनधारणामा आबद्ध भाषण गर्दै हिँडेवापत दुबै जना पक्राउ परेका थिए ।

बालकृष्णशमशेरसँगै त्यसबेला न्हुच्छेमान पनि पक्राउ परे । न्हुच्छेमानले राणाका सेनाको कुटाई खाएर मर्नुपरेको घटनाले बालकृष्णको भावना कुँडिएको थियो । २००७ सालको जनक्रान्तिको सफलतापछि जेलमुक्त भएका उनी समवेदना अर्पण गर्न जेलबाट सोझै न्हुच्छेमानको निवासस्थान गएका थिए । अनि त्यसै दिनदेखि उनले शमशेरको ‘शेर’लाई काटेर आफ्नो थर ‘सम’ लेख्न थाले ।

२००७ सालको क्रान्तिपछि सम रेडियो नेपालमा निर्देशक भए, गोरखापत्रका प्रधानसम्पादक भए र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य भए । त्यसपछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति पनि भए ।

सम एउटा उच्चकोटिका चित्रकार र कुशल अभिनेता पनि थिए ।

समले नेपालका विभिन्न भूभागको भ्रमण गरे । साथै उनले भारत, चीन, बर्मा, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, इटाली, संयुक्त अधिराज्य, सोभियत रूस र अमेरिकाको पनि भ्रमण गरे ।

समका नाटक, कविता, निबन्ध, प्रबन्ध, जीवनी र कथा गरेर तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भए ।

सम गोरखादक्षिणबाहु प्रथम, राजकीय पदक र त्रिभुवनजयन्ती पदकबाट विभूषित भए । उनी ‘त्रिभुवन प्रज्ञापुरस्कार’का साथ ‘पुथ्वी प्रज्ञापुस्कार’बाट पनि सम्मानित भए ।

२००९ सालमा दार्जीलिङ पुगेका बेला साहित्यका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिमूर्तिमा घोषित भएका थिए । नेपाली भाषासाहित्यमा अति उत्कृष्ट नाटक लेखन र मञ्चनका शिखर व्यक्तित्व समलाई नाट्यसम्राट् भनिन्छ ।

समको २०३८ साल साउन ६ गते काठमाडौंमा स्वर्गारोहण भयो । उनको महिमामा सरकारले हुलाक टिकट प्रकाशनमा ल्यायो । साथै काठमाडौंको सञ्चारग्राममा त्रिमूर्ति निकेतनबाट उनको पूर्णकदको सालिक उभ्याइएको छ, जसको दायाँबायाँमा कविशिरोमणि लेखनाथ पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाका सालिकहरू पनि विराजमान छन् ।

२०७५ मंसिर २१ गते १६:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर