बैदेशिक रोजगारीमा चरम ठगी, राम्रो कम्पनिमा पठाईदिन्छु भन्दै कयौँगुणा बढीरकम असुल्दै म्यानपावर
आजको खबर | प्रकाशित : २०७५ पुष २ गते ३:४८

काठमाडौं। हरेक दिन वैदेशिक रोजगार विभाग बुद्धनगरमा वैदेशिक रोजगारका नाममा विभिन्न शिर्षकमा ठगिएका युवाको ठूलो संख्या भेटिन्छ। म्यानपावर कम्पनी वा दलालले नै वैदेशिक रोजगारमा विभिन्न देश पठाउने वहानामा नेपाली श्रमिकलाई ठग्दै आएका छन्।
ती मध्ये पनि विदेश पठाइ दिने वहानामा सरकारले तोकेको शुल्क भन्दा कैयौँ गुणा बढी रकम असुलेर विदेश नै नपठाउने म्यानपावरबाट ठगिएका युवाको ठूलो संख्या विभागसम्म धाउने गरेका छन्। अक्सफोर्ड इन्टरनेशनल प्रालि, आनन्द ओभर्सिस प्रालि, सोसियल इम्प्लोइमेन्ट सर्भिस प्रालि, ट्यालेन्ट ओर्भसिस सर्भिसेस प्रालि, एमबीके ओर्भसिस प्रालि, डन इन्टरनेपाल ग्रुप प्रालि, स्ट्याम्फोर्ड ब्राइड इन्टरनेशनल सर्भिस प्रालिलगायतका म्यानपावर कम्पनीलेबढी पैसा लिएर पनि विदेश नपठाएको पीडितले जनाएका छन्।
यी म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारका लागि खाडीलगायतका मुलुकमा जाने युवालाई सरकारले तोकेको शुल्क भन्दा बढी रकम असुलेर पनि वैदेशिक रोजगारका लागि पठाउन नसकेको पीडितले गुनासो गरेका छन्। यसरी म्यानपावरले ठगेका पीडितले म्यानपावर कम्पनी विरुद्ध ठगीको मुद्दा दायर गरेका छन्। सरकारले मलेशियासहित खाडी मुलुकमा जाने नेपाली कामदारका लागि २०७२ साल असार देखि फ्री भिसा, फ्री टिकटको नियम लागू गरी कडाइका साथ नियम लागू गर्ने जनाएको थियो। तर, सरकारले फ्री भिसा, फ्री टिकट लागू गरेका देशमा जानकालागि नै श्रमिकले ठूलो रकम तिर्नु परिरहेको छ।
सरकारले तोकेका भन्दा बढी पैसा लिएर पनि म्यानपावर कम्पनीले विदेश नपठाएको भन्दै दैनिक दर्जन पीडित विभाग पुग्ने विभाग पुग्ने गरेका छन्। विभागका महानिर्देशक दिलिपकुमार चापागाईँले विभागमा आउने पीडितको समस्या बुझेर छानवीन गरी म्यानपावर कम्पनीलाई पीडितको रकम फिर्ता गर्न लगाउने र अटेर गरे कारवाही गर्ने दाबी गरे।
महानिर्देशक चापागाईँले ठग म्यानपावर कम्पनीलाई ठगीको प्रकृया हेरेर तत्काल कारबाही गर्ने बताए पनि विभागमा भेटिएका पीडितले भने म्यानपावरले ठगेपछि ठगीएको रकम फिर्ता गर्न सास्ती खेप्नु परेको गुनासो गरे। उपत्यका भन्दा बाहिर घर हुने काठमाडौं आउँदा, खाँदा, बस्दा नै ठगीएको रकम बराबर फेरि अर्को रकम खर्च हुने बताउँछन्।
विभागमा भेटिएका मोरङका रितेश कुमार यादवलाई मलेशिया पठाइदिन्छु भन्दै सोसल इम्प्लोइमेन्ट सर्भिस प्रालि (लाइसन्स नं ४६७) ले ३ लाख २५ हजार ६ सय ४० रुपैयाँ लियो। एक जना श्रमिक मलेशिया पठाउँदा म्यानपावर कम्पनीले पाउने सेवाशुल्क भने सरकारले १० हजार रुपैयाँ तोकेको मात्र तोकेको छ।
सरकारले तोकेको रकममा पठाउन नसक्ने जिकिर गर्दै आएका म्यानपावर व्यवसायीले मलेशिया पठाउँदा १ लाख देखि १ लाख ५० हजार सम्म असुल्दै आएका छन्। कतिपय म्यानपावरले दुई देखि ३ लाखसम्म पनि रुपैयाँ असुल्दै आएको पाइएको छ। रितेश कुमार यादवसँग ३ लाखभन्दा बढी रकम असुलेर पनि उनलाई म्यानपावरले मलेशिया नपठाएपछि म्यानपावर कम्पनी विरुद्ध यादवले ठगीको मुद्दा दायर गरेका छन्। यादव भन्छन्, ‘सोझो मान्छे मलेशिया जान कति लाग्छ भन्ने थाहा थिएन। राम्रो कम्पनीमा काम छ भनेर पैसा माग्यो दिएँ। काममा पनि पठाएन पैसा फिर्ता नदिएको पनि एक वर्ष भइसक्यो।’
यादवलाई म्यानपावरले हस्पिटलमा काम लगाइदिने, महिनामा ६० हजारभन्दा बढी कमाइ हुन्छ भनेर प्रलोभन देखाएको उनले सुनाए।
विभागमै भेटिएका रौताहटका उपेन्द्रप्रसाद ठाकुर र लिलबहादुर चन्द्रवंशीलाई एमबिके ओर्भसिस प्रालिले दुवई पठाउने भन्दै तीन–तीन लाख भन्दा बढी रकम लिएर दुवई पठाएन।दुवई पठाउँदा म्यानपावरले लिन पाउने शुल्क भने १० हजार मात्रै रहेको छ। उनीहरुलाई म्यानपावर कम्पनीले दुवई तुरुन्त पठाउने भन्दै तीन लाख लिएको थियो। तर हालसम्म पनि उनीहरुलाई दुवई पठाइएको छैन। पीडित लिलबहादुर चन्द्रवंशीले भने–‘म्यानपावरले पैसा पनि फिर्ता गरेन। पख्नुस् भन्छ ८ महिना सम्म पनि पख्नुस् मात्र भनेपछि विभागमा आउनै पर्यो, नत काममा पठाउँछ नत पैसा फिर्ता दिन्छ।’
दैनिक जसो नै विभागमा म्यानपावरले ठगेका पीडितको भिड लाग्ने गरेको छ। त्यही भिडभाड भित्र एडभान्चर ह्युम्यान रिर्सोसेस प्रालिले ठगेका बुद्धिबहादुर माझी र वीरबहादुर कुशवार भेटिएका थिए। उनीहरुलाई साउदी अबर पठाइदिन्छु भन्दै म्यानपावर कम्पनीले दवबै जनासँग ४ लाख २८ हजार ९ सय ४० रुपैयाँ असुली गरेको थियो।त्यत्रो रकम असुलेर पनि म्यानपावरले उनीहरुलाई साउदी भने पठाएन। साउदी अरबमा सेक्युरिटी गार्डको काममा पठाउने र मासिक एक लाखसम्म कमाइ हुने प्रलोभन देखाएर म्यानपावरले रकम असुली गरेको उनीहरुको भनाइ छ।
म्यानपावर कम्पनीलाई साउदी अरब जानका लागि ४ लाखभन्दा बढी रकम बुझाएका उनीहरु साउदीमा मासिक १ लाखसम्म कमाइ हुने हुँदा आफूहरु सुरुमा त निकै दंग परेको बताउँछन्। पछि म्यानपावर कम्पनीले उनीहरुलाई साउदी भने पठाएन। पीडित बुद्धिबहादुर माझीले भने, ‘साउदीमा गएर मासिक १ लाख कमाइ भइहाल्छ भनेर ऋण लिइयो अहिले ४ लाख उठाउन वर्ष दिन पनि गयो ऋणको ब्याज पनि बढेको बढ्यै छ।’