काँग्रेस महासमिति बैठक : महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ पुष ३ गते ९:५७

काठमाडौं। नेपाली काँग्रेसको महासमिति बैठक स्थल मंगलबार बिहान केहीबेर तनावग्रस्त भएको छ।

जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो। जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए।

जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो। बैठक स्थगित भएपछि मञ्चमा माइक लिएर नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बोल्न सुरु गरेपछि सहमहामन्त्री डा। प्रकाशशरण महतले माइक खोसेका थिए। माइक खोसाखोसपछि त्यहाँ घम्साघम्सीको अवस्था सृजना भएको हो।

तर, काँग्रेस सहमहामन्त्री महतले भने माइक तोडफोड गर्ने हर्कत गरेपछि आफूले त्यसलाई रोक्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन्। उनले सभापतिले बैठक केहीबेरका लागि स्थगित गरेपछि पनि नुवाकोट जिल्ला सभापति केसीले अशोभनीय काम गरेको उल्लेख गर्दै त्यसप्रति महासमितिका सबै सदस्यहरु दुःखी रहेको दावी पनि गरे।

यसैबीच, काँग्रेस शिर्ष नेताहरु पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफल गरिरहेका छन्। विधानमा देखिएको विवाद समाधान गर्न शिर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन्। दिउँसो २ बजे पुनः महासमिति बैठक सुरु हुने गरी तत्कालका लागि सो विधानमा सहमति जुटाउन नेताहरु छलफलमा जुटेकोसहमहामन्त्री महतले जानकारी दिए।

विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा काँग्रेस शिर्ष नेतृत्वबीच विवाद छ। पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुटन नसकेको हो। सोमबारको महासमिति बैठकमा पनि विधानको मस्यौदा बैठकमा पेश गर्न ढिलाई नगर्न माग गर्दै होहल्ला गरिएको थियो।

२०७५ पुष ३ गते ९:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर