सरकारको चरम लापरबाही, बिरामी उपचार गर्ने स्वास्थ्यचौकी नै यस्तो अस्वस्थ

आजको खबर   |    प्रकाशित : २०७५ पुष ६ गते ३:२७

राँझा। बिरामीको उपचारको लागी भनेर खोलीएको बेलहरी स्वास्थ्यचौकी आफैमा अस्वस्थ देखिएको छ । बाँके जिल्ला जानकी गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा भौतिक पूर्वाधारको कुरा त परै को कुरा उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको व्यवस्था छ नत बिरामी जाँच गर्ने कोठा नै छ । कोठाको अभावमा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ ।

न्यूनतम आधारभूत पूर्वाधार समेत नरहेको उक्त स्वास्थ्यचौकीमा सामन्य सेवासमेत उपलब्ध नभएको स्वास्थ्यचौकीका प्रमुख अहेव टामलाल बेल्वासेले बताए। “स्रोतसाधन छैन, छ महीना भयो विद्युत्को बिल तिर्न नसकेको”, उनले भने, “वडा कार्यालयमा यस विषयमा पटक–पटक जानकारी गराइएपनि सुनुवाइ भएन, अब कहाँ भन्न जाने ?”

विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट विगतमा बाहिरङ्ग सेवा सञ्चालनका लागि रकम आउने भए पनि स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरणपछि आयस्रोत पनि ठप्प भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गीरबहादुर गुरुङले मसलन्द खर्चका लागि गाउँपालिकामा रकम माग गरिएको र उपलब्ध भए स्वास्थ्यचौकी सञ्चालनमा सहजता आउने बताए।

प्रसूतिकेन्द्र प्रयोगविहीन बेलहरी स्वास्थ्यचौकीमा चार वर्षअघि प्रसूति केन्द्रको भवन बने पनि सञ्चालनमा आउनसकेको छैन । तत्कालीन जिल्ला विकास समितिको सहयोगमा प्रसूति केन्द्र निर्माण गरिएपनि त्यसका झ्याल र ढोका तोडफोड भएका कारण प्रयोगविहीन बनेको हो ।

बिजुली बत्ती र खानेपानीको व्यवस्था नहुँदा प्रसूति सेवासमेत सञ्चालन हुन नसकेको स्वास्थ्यचौकी प्रमुख बेल्वासेको भनाइ थियो । प्रसूति केन्द्र सञ्चालन नहुँदा प्रसूतिका लागि सदरमुकाम नेपालगञ्ज जानुपर्ने बाध्यता छ । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले विगतमा बजेट विनियोजन भएपनि स्वास्थ्यका समस्या समेट्न नसकेको स्वीकार गर्दै आगामी दिन यसलाई प्राथमिकतामा राखिने बताए। रासस

२०७५ पुष ६ गते ३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर