विकास निमार्णको कार्य तिव्र ,दमकमा विश्वको अग्लो गौतम बुद्धको मुर्ती र १८ तले भ्युटावर बन्ने

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते १२:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन्।

झापा नेकपाका नेता तथा स्थानीय निकायका जनप्रतिनिधि र प्रशासकीय अधिकृतसँगको भेटमा प्रधानमन्त्रीले आज यस्तो बताएका हुन्। प्रधानमन्त्रीको गृहनगर दमकमा घोषणा अनुसार नै विकासका कामलाई अगाडि बढाइएको दमक नगरका प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी गराए।

बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाको प्रगति बारेमा जानकारी गराएका हुन्। दमक सभाहल र निर्माणाधिन अवस्थामा रहेको पशुहाट बजार केन्द्र सम्पन्न भएको, १८ तले दमक भ्यू टावरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको यसका लागि पाँच विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उनले बताए।

दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी दिए। यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि सात विगाहा जग्गा नगरपालिकाको नाममा दर्ता भइसकेको, २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारिस गरी पठाएको उनले जानकारी गराए। उनले आयोजनाको डीपीआर तयार भएको र दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समिति बनाएको तिम्सिनाले बताएका छन्। यसैगरी दमक नगरपालिकाले सञ्चालन गरेका नगरपालिका भवन, सहिद वनबाटिका, घण्टाघर सहितको रोज गार्डेन , विपन्नका लागि नमुना आवास गृह निर्माण, सुनचाँही टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए।

कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा-झापा सडक, लक्ष्मीपुर-घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे। पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा एक करोड रुपैयाँ विनियोजन गरिदिन माग गरे। यसैगरी अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले नगरको विकास निर्माणका बारेमा जानकारी गराए।

प्रधानमन्त्री ओलीले गृह नगरका राष्ट्रिय योजनामा कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए। ‘यस्ता द्विविधाले पुराना भन्दा नयाँनयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो’, ओलीले भने, ‘अब कस्ता योजना कसले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकाले सबै योजना तिव्रताका साथ अगाडि बढ्छन्।’

२०७५ पुष १८ गते १२:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर