अपहरणदेखि अमेरिकासम्म, एक ‘सेलिब्रिटी’को जीवन अनुभव (भिडियो संवाद)
आजको खबर | प्रकाशित : २०७६ असार ७ गते ८:१०

काठमाडौं । चर्चित लोक गायक एवं पत्रकार रामप्रसाद खनाल अहिले सपरिवार अमेरिका बस्छन्। दशक अगाडि नेपाली सञ्चार र कला क्षेत्रमा उनी निकै चर्चित थिए। उनको चर्चा र सक्रियता नेपाल बाहिर भएपनि असरदार नै देखिन्छ।
नेपाल टेलिभिज, रेडियो नेपाल, बीबसी र अन्य विभिन्न छापामाध्यमबाट उनले पत्रकारितामा योगदान गरे। पत्रकारितासँगै लोकगीतले उनको पहिचानलाई अझ उचाइ दियो। त्यो बेला उनले एकसे एक हिट लोक गीत पस्किएर आफूलाई ‘सेलिब्रिटी’ स्थापित गरिछाडे।
चल्तीका कलाकार एवं पत्रकार खनालको जीवनमा एकाएक राजनीतिक प्रभाव बढ्दै गयो। एकातिर माओवादी सशस्त्र आन्दोलन उत्कर्षमा थियो अर्कोतर्फ संसदीय दलहरू सडक आन्दोलनमा थिए। त्यो बीचमा राजा ज्ञानेन्द्रको शासन व्यवस्था डगमडाउने अवस्थामा थियो। कुनै पनि क्षेत्र राजनीतिबाट अछुतो थिएन। त्यही राजनीतिको प्रभावले त्यो बेलाका चल्तापूर्ज ‘सेलिब्रिटी’ खनाललाई पनि राम्रै गाँज्यो।
देशमा आएको ठूलो राजनीतिक परिवर्तनसँगै खनालको जीवनको रूपरेखा पनि फेरिने मोडमा आइपुग्यो। तात्कालीन राजनीतिको असर उनको व्यावसायिक र नीजि जीवनमा नमिठो गरेर घोलिदै गयो। उनी तात्कालीन माओवादीको युवा दस्ता वाइसियलको अपहरणमा पनि परे।
शाही कदम, वाइसियलबाट अपहरण, राजशाहीको अन्त्य र गणतन्त्र उदय जस्ता घटनाक्रमको प्रभाव पछि कलाकारिता र पत्रकारिता चटक्कै छाडेर अमेरिका पुगेका रामप्रसाद खनाल यतिबेला नेपाल आएका छन्। हामीले भेट्दा उनी आफ्नो कलाकारिताका विभिन्न आयाम र पारिवारिक व्यस्ततामै रंगमगिएका भेटिए।
राजनीतिक आस्थाकै कारण अपहरित हुने देखि देश छाडेर अमेरिकासम्मको भोगाइ र अहिलेको राजनीतिमाथि खनालको दृष्टीकोण यो संवादमा उतारिएको छ। खनालको भनाइ छ- पहिले राजा एक थिए अहिले गाउँसहर जताततै हजारौं नयाँ राजा उदाएका छन्।
अहिलेका शासक र राजनीतिबारे उनको विस्तृत विश्लेषण यो भिडियो संवादमा समेटिएको छ …