पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन महासंघको आग्रह

आजको खबर   |    प्रकाशित : २०७६ असोज २ गते ५:४६

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ। काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए।

बैठकले श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ। बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ।

महासचिव विष्टका अनुसार दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ। बैठकले समाचार सङ्कलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ।

यसैगरी बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनरबहाली गर्नसमेत माग गरेको छ। रासस

२०७६ असोज २ गते ५:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर