कांग्रेसमा थप शक्ति बढाउँदै सभापति देउवा

आजको खबर   |    प्रकाशित : २०७६ असोज १० गते ८:१७

काठमाडौं। नेपाली काँग्रेसको माहाधिवेशनको मिति नतोकिए पनि नेताहरु त्यसको तयारीमा नेताहरु जुटिसकेका छन्। कम्तिमा अबका डेढ वर्षमा काँग्रेसको १४ औं महाधिवेशन हुनेछ।

महाधिवेशनमा आ–आफ्नो समूहलाई बलियो बनाउने नेताहरु कसरतमा लागिरहेका बेला सभापति शेरबहादुर देउवाले आफ्ने ‘शक्ति’ थप बढाउँदै लगेका छन्।

२०७४ को आम निर्वाचान ठिक अगाडि तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेको काँग्रेसले त्यसको पूरा फाइदा भने सभापति देउवाले पाउने देखिएको छ।

विजयकुमार गच्छेदारलाई पार्टीमा भित्र्याएका देउवाले उनलाई एक वर्षपछि विधानमै नभएको थप उपसभापतिमा मनोनयन गरे। गच्छेदारलाई उपसभापति बनाउने निर्णयलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहर्ष स्वीकार नगर्दाको फाइदा देउवालाई हुने देखिएको छ।

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। यो बैठकले हाल ८५ सदस्यीय रहेको काँग्रेस केन्द्रीय समितिमा ९ देखि ११ जना नयाँ केन्द्रीय सदस्य थप्ने लगभग पक्का भएको काँग्रेस स्रोतले जनाएको छ। स्रोतका अनुसार नयाँ थपिने सबै केन्द्रीय सदस्य तत्कालीन फोरमबाट काँग्रेससँग एकीकरण भइ आएका नेताहरु हुनेछन्।

हालको केन्द्रीय कार्यसमितिमा देउवा समूह सुविधाजनक बहुमतमा छ। नयाँ सदस्य थपिएपछि उसको शक्ति अझै बढ्ने छ। किनकी देउवाले गच्छदारलाई उपसभापति बनाउँदा पौडेल समूहले विरोध गरेपछि सो समूह पूर्ण रुपमा देउवा समूहप्रति वफदार हुने देखिएको छ।

पौडेल समूहले गच्छदार समूहलाई आफूतिर आकर्षित गर्ने अवसर गुमाएपछि त्यसको पूरा फाइदा लिने तयारीमा देउवा रहेको एक नेताले बताए।

गच्छदार समूहबाट केन्द्रीय समितिमा मात्र थपिने छैनन्, महासमितिमा पनि केही व्यक्तिहरु थपिने छन्। जिल्लामा पनि गच्छेदार समूहबाट केही संख्याहरु थपिने छ। जसको फाइदा आगामी महाधिवेशनमा सभापति देउवा समूहलाई हुने एक काँग्रेस नेता बताउँछन्।

कांग्रेसमा वर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिँदैछ। तर विधानमा विशेष परिस्थितिमा ६÷६ महिना गरी एक वर्ष कार्यकाल थप गर्न सकिने व्यवस्था छ।

सभापति देउवा विधानको त्यही व्यवस्थामा टेकेर एक वर्ष म्याद थप गर्ने तयारीमा छन् भने संस्थापनइतर पक्ष भने आगामी फागुन महिनामा नै महाधिवेशन हुनुपर्ने अडानमा छ। यस्तो अवस्थमा सभापति देउवा आफू थप बलियो भएपछि मात्रै महाधिवेशन गराउने दाउमा छन्।

२०७६ असोज १० गते ८:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर