किमाथाङ्का सडक आयोजना समृद्धिको आधार

आजको खबर   |    प्रकाशित : २०७६ असोज २५ गते १:५५

काठमाडौं । नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको किमाथाङ्का सडक आयोजना सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिइएको छ।

देशको आयआर्जनमा महत्वपूर्ण योगदान रहने विश्वास लिएको यो सडकले नेपाल, भारत र चीनसँगको सम्बन्धलाई अझ फराकिलो बनाउन सहयोग बताइएको छ।

नेपालको सीमावर्ती बजार भारतको जोगबनीदेखि उत्तर चीनसँग जोडिने यो बाटो लगभग २०० किलोमिटर लामो छ।

विराटनगरको रानीदेखि सुनसरी, धनकुटा, खाँदबारी तेह्रथुम हुँदै चीनसम्म जाने यो मार्गले चीन र भारतको व्यापारलाई नजिक्याउनुका साथै यसबाट नेपालले प्रशस्त लाभ लिन सकिने अनुमान गरिएको छ।

चीनको सबैभन्दा ठूलो बजार भारत र भारतका लागि पनि सबैभन्दा ठूलो बजार चीन भएकाले यो सडकको प्रयोगबाट त्रिदेशीय फाइदा पुग्ने यहाँका उद्योगी एवं व्यापारीको भनाइ छ।

गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म यस सडक आयोजनालाई विशेष प्राथमिकताका साथ चर्चा गर्दै आएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले बताए।

किमाथाङ्को शुरुआती बिन्दुदेखि दुई लेनको साधारण मार्ग खोल्ने काम शुरु भए पनि यो सडक चार लेनकै बन्नुपर्ने उनको धारणा छ। “आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो बाटोको महत्व निकै छ, यसबाट दुई देशबीच हुने व्यापारबाट नेपालले प्रशस्त लाभ लिन सकिन्छ”, उपाध्यक्ष प्रधानले भने।

नेपाल ‘ट्रान्जिट प्वाइन्ट’ भएकाले यो मार्गको प्रयोग एवं उपयोगले होटल व्यवसाय विस्तार हुने, पर्यटक आगमनमा वृद्धि हुने तथा सडक प्रयोग गर्ने सवारीसाधनबाट कर सङ्कलन हुनुका साथै यहाँका उत्पादन, संस्कृतिक आदानप्रदानमा मद्दत पुग्ने विश्वास गरिएको छ। यस सडक योजनालाई अन्तरदेशीय सडक सञ्जाल विकास गर्नुपर्नेमा उपाध्यक्ष प्रधानको भनाइ छ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले किमाथाङ्का सडक प्रदेश नं १ को विकास र समृद्धिको आधारशीला हुने विश्वास व्यक्त गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले किमाथाङ्का बाटोले हाम्रा मित्र राष्ट्र चीन र भारतसँगको सम्बन्धलाई अझ प्रगाढ गर्नुका साथै पर्यटक भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

नेपालको पूर्वी क्षेत्रलाई गुल्जार बनाउन र आर्थिक रुपमा बलियो बनाउन तथा धार्मिक, सांस्कृति, सामाजिक सद्भाव बढाई यी दुवै विकासित राष्ट्रबाट पर्याप्त फाइदा लिन किमाथाङ्का बाटो प्राथमिकतामा पर्नुपर्ने केन्द्रीय सदस्य रेग्मीको भनाइ छ। रासस

२०७६ असोज २५ गते १:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर