महाभियोग छानबिनमा नयाँ मोडः ट्रम्पले युक्रेनलाई दबाव दिएको अमेरिकी राजदूतको बयान

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ६ गते ७:१७

बीबीसी । आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको बयान अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले दिएका छन्।

निमित्त राजदूत बिल टेलरले ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनका आफ्ना सम्भावित प्रतिद्वन्द्वी भूतपूर्व उपराष्ट्रपति जो बाइडनमाथि युक्रेनले अनुसन्धान गरोस् भन्ने चाहेको आफूलाई बताइएको जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने विषयमा भइरहेको छानबिनका क्रममा युक्रेनका लागि अमेरिकी राजदूत बिल टेलरले बयान दिएका हुन्। उनले अमेरिकाको घरेलु राजनीतिक कारणले युक्रेनसँगको कूटनीतिक सम्बन्धलाई आधारभूत रूपमै ध्वस्त पारिएको बताए।

युक्रेनसँगको नीतिमा कुनै लेनदेन नभएको ट्रम्पको दाबी छ। यसअघि ट्रम्पले युरोपेली सङ्घका निम्ति अमेरिकी राजदूतलाई कङ्ग्रेसले थालेको छानबिनमा बयान नदिन आदेश दिएका थिए।

संसद्‌मा हालै लिएका बयानहरूबारे प्रतिक्रिया जनाउँदै ह्वाइट हाउसकी एक प्रवक्ता स्टेफनी ग्रिशमले विज्ञप्तिमा भनिन्, ‘राष्ट्रपति ट्रम्पले केही पनि गलत गरेका छैनन्। यो अतिवामपन्थी सांसदहरू र निर्वाचित नभएका उग्र कर्मचारीले गरेको संयोजित भ्रामक अभियान हो।’

टेलर गत जुन महिनामा युक्रेनका लागि अमेरिकी दूत बनेका हुन्। उनी ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी छानबिनमा बयान दिने पछिल्ला व्यक्ति हुन्। राष्ट्रपति ट्रम्पविरुद्ध शक्तिको दुरुपयोग गरेको आशङ्कामा डेमोक्र्याट नेतृत्वको समितिले महाभियोगसम्बन्धी उजुरीमाथि छानबिन गर्नुअघि टेलरले बयान दिएका हुन्।

राष्ट्रपति ट्रम्प र युक्रेनका नयाँ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच जुलाई २५ मा भएको टेलिफोन संवादको लिखित विवरणले ट्रम्पले बाइडन र उनका छोरा हन्टरविरुद्ध लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न आह्वान गरेको देखाउँछ।

बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनुपर्छ भनेर प्रत्यक्ष आह्वान गरिसकेका छन्। डेमोक्र्याटहरूले कङ्ग्रेसमा थालेको महाभियोगको छानबिनलाई ह्वाइट हाउसले नसघाउने जनाएको छ।

बराक ओबामाका उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यति बेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए। अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमोक्र्याटिक उम्मेदवारको प्रबल दाबेदार हुन्।

गत महिना अमेरिकी सञ्चारमाध्यमले एक गुप्त सुराकीले विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेको जनाएका थिए।

अमेरिकी राष्ट्रपतिले युक्रेनी समकक्षीलाई बाइडनमाथि अनुसन्धान गर्न दबाव दिएको समाचारहरूमा उल्लेख थियो। ट्रम्प प्रशासनले सुराकीको उजुरी कङ्ग्रेसलाई हस्तान्तरण गर्न रोकिरहेको विवरण बाहिर आएको थियो।

सन् २०१४ मा हन्टर बाइडनले युक्रेनमा काम गरिरहेको कम्पनीमा काम थाल्दा अमेरिकी उपराष्ट्रपति रहेका उनका बुवाका निम्ति सम्भावित स्वार्थ बाझ्ने विषयमा प्रश्नहरू उठाइएको थियो। रुसको समर्थन प्राप्त राष्ट्रपति हटाइएपछि युक्रेन राजनीतिक सङ्क्रमणमा थियो र बाइडनले पटकपटक त्यहाँको भ्रमण गरेका थिए।

सन् २०१६ मा जो बाइडनले युक्रेनी सरकारलाई त्यहाँका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न दबाव दिएका थिए। ती अभियोजनकार्ताको कार्यालयले बाइडनका छोरा संलग्न कम्पनीमाथि छानबिन गरिरहेको थियो।

गत वर्ष एउटा थिङ्क ट्याङ्कमा दिएको भाषणमा बाइडनले अभियोजनकर्तालाई निकाल्न अर्बौँ डलरको जमानत रोक्का गर्ने चेतावनी दिएको बताएका थिए। उनले भनेका थिए, मैले उनीहरूलाई हेरेँ र भनेँ–छ घण्टामा म फर्किँदैछु। यदि अभियोजनकर्तालाई बर्खास्त गरिएन भने तपाईँहरूले पैसा पाउनु हुने छैन।’

भ्रष्टाचारविरोधी प्रयासमा बाधकको बनेको ठानेर कैयौँ पश्चिमा सरकारहरू र ठूलो लगानीकर्ता युक्रेन सरकार पनि ती अभियोजनकर्तालाई हटाउन चाहन्थे। तर ट्रम्प र उनका सहयोगीहरू बाइडनले छोरालाई जोगाउन त्यस्तो कदम चालेको आरोप लगाउँछन्।

यो वर्षको मे महिनामा युक्रेनका तत्कालीन प्रमुख अभियोजनकर्ताले जो र हन्टर बाइडनले अनुचित काम गरेको प्रमाण नभएको बताएका थिए। जो बाइडनले आफूले कहिल्यै पनि छोरासँग उनको व्यापारबारे कुरा नगरेको बताएका छन्।

ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै सङ्केत छैन। सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच गत महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो।

ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग कुराकानीका क्रममा युक्रेनमा पहिल्यै भ्रष्टाचार सिर्जना गरेका उपराष्ट्रपति बाइडन र उनका छोराले जस्तो आफ्ना नागरिकबाट नहोस् भन्ने कुरा र भ्रष्टाचारको प्रसङ्ग राखेको बताएका थिए।

तर उनले आफूलाई महाभियोग लगाउने चेतावनीलाई गम्भीरतापूर्वक नलिएको बताएका थिए।

२०७६ कार्तिक ६ गते ७:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर