उपेन्द्र यादवलाई सरकारबाट बाहिरिन दबाव

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १८ गते ६:१७

काठमाडौं। संविधान संशोधन हुनुपर्नेलगायतका तीन बुँदे सहमति गरेर सरकारमा सहभागी भएको समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन दवाब परेको छ।

विशेष गरी तत्कालीन नयाँ शक्ति पार्टीसँग एकता गरेपछि पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपेन्द्र यादवमाथि सरकारबाट बाहिरिन दवाब परेको हो। डा. बाबुराम भट्टराई पक्षधर तत्काल सरकारबाट बाहिरिनु पर्ने पक्षमा छन्। तर सरकारमा तेस्रो बरियतामा रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव भने तत्काल सरकारबाट बाहिरिन नहुने पक्षमा छन्।

राष्ट्रिय जनता पार्टीसँग एकताको तयारी गरिरहेको समाजवादी पार्टीलाई राजपाले एकतका लागि सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको छ। विभिन्न चरणमा भएको दुई दलबीचका औपचारिक छलफलमा राजपाले सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको छ। जसलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको राजपाका एक नेताले बताए।

‘सरकारबाट बाहिरिने विषयमा समाजवादी पार्टी सकारात्मक नै पाएका छौं,’ राजपा वार्ताका टोलीका एक सदस्यले डिसी नेपालसँग भने, ‘विशेष गरी डा. बाबुराम भट्टराई पनि सरकारबाट बाहिरिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ।’

यसअघि राजपाले पनि बाहिरै बसेर सरकारलाई समर्थन गरेको थियो। तर आफूहरुको माग सम्वोधन नगरेको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। तर समाजवादी पार्टी भने सरकारमै सहभागी छ। पार्टीभित्र सरकारबाट बाहिरिन दवाब परेपछि उपेन्द्र यादवले भने सरकारमै बसेर आफूहरुको माग सम्वोधन गर्न सरकारलाई दवाब दिन सकिने बताउँदै आएका छन्।

सरकारबाट बाहिरिनु पर्ने दवाब खेपिरहेका यादव अब बस्ने केन्द्रीय समितिको बैठकबाट सरकार छाड्ने वा बाहिरिने निर्णय हुने छ। पछिल्लो समय सार्वजनिक रुपमा नै सरकारमा तेस्रो बरियतामा रहेका यादवले सरकारले जन अपेक्षा अनुसारको काम गर्न नसकेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

पार्टीका कार्यक्रममा सहभागी हुँदा सरकारको आलोचना गरेर कार्यकर्ताको मन जित्ने कोशिश गरेपनि यादव तत्काल सरकारबाट बाहिरिन चाहँदैनन्।

स्रोतका अनुसार सरकारबाट बाहिरिएपछि आफ्नो माग पूरा गराउन दवाबका कार्यक्रम गर्नुपर्ने हुन्छ। तर अहिले तत्काल आन्दोलन हुने अवस्था नभएको यादवले निष्कर्ष निकालेका छन्। बरु सरकारमा सहभागी भएरै आफूहरुको माग पूरा गराउन प्रभावकारी भूमिका निर्वाह गर्न सकिने यादवले निष्कर्ष निकालेको स्रोतले जनाएको छ। ‘सरकारबाट बाहिरिनुको अर्थ आन्दोलनमा जानु हो,’ एक नेताले भने, ‘अहिले आन्दोलनमा जाने अवस्था छैन। दुई नम्बर प्रदेशमा पनि हाम्रै नेतृत्वको सरकार छ। त्यो सरकारप्रति पनि जनताको असुन्सतुष्टि छ। यसलाई हामीले राम्रोसँग बुझेका छौं।’

२०७६ कार्तिक १८ गते ६:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर