वाईडबडी प्रकरण, उड्डयन मन्त्रालयलाई लेखा समितिका ३८ प्रश्न

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १९ गते ११:१३

खेमराज थापा

काठमाडौं । नेपाल वायु सेवा निगमले विचौलिया कम्पनीमार्फत खरिद गरेको एअर बसका दुई वाईड बडी विमानमा घोटाला भएको आशंका बढेपछि संसदको लेखा समितिले आफ्नो छानविन अगाडी बढाएको छ ।

समितिले बुधबार नागरिक उड्यन तथा पर्यटन, संस्कृति मन्त्री रविन्द्र अधिकारीलाई समितिको बैठकमा बोलाएर यो विषयमा जानकारी लिएको छ ।

समितिमा मन्त्री अधिकारीले वाईड बडी खरिद प्रकरणमा मन्त्रालयले आन्तरिक रुपमा छानविन गरिरहेको जानकारी दिए । उनले विमानको स्वामित्वका विषयमा भएका हल्ला निराधार रहेको भन्दै विमान भाडामा नभई खरिदै गरेर ल्याएको प्रमाणपत्र देखाएका थिए ।

महालेखा नियन्त्रकले आफ्नो प्रतिवेदनमा सो विमान खरिद प्रक्रियामै त्रुटी भएको औंल्याएपछि यो विषयले चर्चा पाएको हो । संसदको लेखा समितिले महालेखाले उठाएको सोही प्रश्नका आधारमा यो प्रकरणमा छानविन गर्ने तयारी थालेको हो । औपचारिक रुपमा छानविन गर्नुभन्दा पहिला समितिले मन्त्री अधिकारी र निगमका पदाधिकारीसँग सामान्य जानकारी लिएको हो ।

समितिका सभापति भरत शाहले वाईड बडी विमान प्रकरण ‘विशेष’ भएको भन्दै लेखा समितिले नै छानविन गर्ने तयारी गरेको बैठकमा बताएका थिए । उनले यो विषयमा कुनै उपसमिति बनाएर छानविन गर्नुभन्दा पूर्ण समितिले नै छानविन गर्नुपर्ने प्रस्ताव राखेका थिए । समितिका सदस्यहरुले सभापतिको प्रस्ताव उचित भएको भन्दै पूर्ण समितिबाटै यो विषयमा छानविन गर्नुपर्नेमा समर्थन जनाएका थिए ।

बुधबारको बैठकमा मन्त्री अधिकारीले महालेखाले र विभिन्न माध्यमबाट वाईडबडीका विषयमा प्रश्न उठाएकाले मन्त्रालले पनि छाविन गरेको र संसदीय समितिले पनि छटाविन गर्नुपर्ने बताए । उनले भने, ‘याृ विषयमा लेखा समितिबाट स्पष्ट छानविन होस, मैले छानविनका लागि सहयोग गर्छु ।’

यो प्रकरणलाई गम्भीर चासोका रुपमा लिएको लेखा समितिले नागरिक उड्डयन तथा पर्यटन, संस्कृति मन्त्रालयलाई विभिन्न ३८ वटा प्रश्नसमेत गर्ने तयारी गरेको छ ।

समितिका सभापति शाहले आफूले यो विषयमा तयार पारेका ती ३८ वटा प्रश्नबारे समितिका सदस्यहरुलाई जानकारी गराएका थिए । समितिका सदस्यहरुले ती प्रश्नमाथि थप छलफल गर्नुपर्ने बताएकाले समितिले बुधबार अन्तिम प्रश्न बनाउन सकेन । यद्यपी सभापति शाहले महालेखाकै प्रतिवेदनका आधारमा विमान खरिद प्रक्रिया र मूल्यका विषयमा प्रश्नहरु तयार पारिएको भन्दै सदस्यहरुलाई आफूले तयार पारेका प्रश्नमा समितिका सदस्यहरुलाई कन्मिन्स गरेका छन् ।

समितिले अर्को बैठक छिटै बोलाएर मन्त्रालय तथा निगमलाई प्रश्न सोध्ने तयारी गरेको छ ।

प्रश्नहरु खरिद प्रक्रिया र मूल्यसँग सम्बन्धित रहेको समितिका सभापति शाहले जानकारी दिए ।

बुधबारको बैठकमा सत्तारुढ दलका सांसद विशाल भट्टराईले निगमका महाप्रवन्धक सुगतरन्त कंशाकारलाई हटाउनुपर्ने मागसमेत राखेका थिए । उनले भने, ‘महालेखाले प्रश्न उठाएको छ, मिडियामा प्रश्न उठेको छ, संसदमा प्रश्न उठेको छ, यस्ता व्यक्तिले नैतिकताका आधारमा राजिनामा दिनुपर्दैन ?’ उनले महाप्रवन्धकले राजिनामा नदिए मन्त्रीले उनलाई हटाउनुपर्नेसमेत बताएका थिए । डिसी नेपालबाट

२०७५ मंसिर १९ गते ११:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर