होली वाइन छर्केर धर्म संस्कृतिमाथि आक्रमण भयो : पूर्वराष्ट्रपति

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २० गते ४:५१

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले होली वाइन छर्केर धर्म संस्कृतिमाथि आक्रमण भइरहेको बताएका छन् ।

आइतबारबाट नारायणहिटी पूर्वतर्फ रहेको नारायण मन्दिर जिर्णेद्धारका निम्ति सुरु श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले संविधानमा लेखिएको धर्म निरपेक्षताले जनतामा भ्रम सिर्जना गरिरहेको र होली वाइन छर्केर धर्मसंस्कृतिमाथि आक्रमणको प्रयास भइरहेको बताए ।

‘सबै धर्मलाई समान रूपमा लिनुपर्नेमा त्यो भइरहेको छैन, संविधानमा लेखिएको धर्मनिरपेक्षताका विषयमा जनता कन्फ्युजनमा छन्, होली वाइन छर्केर धर्म संकृति मास्ने काम भइरहेको छ, यो ठीक होइन,’ पूर्व राष्ट्रपति यादवले भने ।

उनले धर्म परिवर्तन गराउनेहरूलाई कडा कानुन बनाएर कारबाही गरिनुपर्ने भन्दै सरकारले नै त्यसतर्फको बाटो बनाउनुपर्नेमा जोड दिए ।
उनले धेरै उतारचडावपछि संविधान जारी भएकाले सबै नेपालीलाई जोड्ने किसिमको राष्ट्रियता मुलुकले खोजेको समेत बताए ।

‘धेरै उतारचढावका बाबजुद संविधान जारी भएको थियो, तपाईंहरू सबै साक्षी हुनुहुन्छ, कति असहज परिस्थितिमा संविधान आयो, अहिले पनि सबै नेपालीलाई एउटै मालामा जोड्ने राष्ट्रियता मुलुकले खोजेको छ,’ उनले थपे । पूर्वराष्ट्रपति यादवले राजनीतिक मान्छेले स्वार्थका लागि बोल्ने गरेको भन्दै मुलुकको हितमा बोल्ने मान्छेको आवश्कता राष्ट्रले खोजेको समेत बताए ।

‘सबै राजनीतिक नेतृत्व बीपी, किसुन जी, गिरिजा, मनमोहन हुँदैनन् । राजनीतिक नेतृत्व स्वर्थमा केन्द्रित हुन थालेपछि चिन्ता लाग्छ, जनताले त्यो बुझनुपर्छ,’ यादवले भने । उनले मुलुकको भौगोलिक संरचनामा विविधता भएजस्तै राष्ट्रका लागि धर्म, संस्कृति, परम्परा, ऐतिहासिक सम्पदा सबै आवश्यक रहेको बताए । यस्तै सामूहिक भावनाले मात्रै मुलुकको हित हुनेमा उनले जोड दिए ।

कार्यक्रममा महायज्ञ मूल समितिका संयोजक भीमसेनदास प्रधानले भूकम्पपछि क्षतविक्षत भएको नारायण मन्दिरको जिर्णेद्वाराका निमित्त महायज्ञ लगाइएको बताए ।

राजधानी दैनिक

२०७६ जेठ २० गते ४:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर