आज ८ औं अन्तराष्ट्रिय बाघ दिवस, नेपालमा जनचेतनामूलक कार्यक्रम गरी मनाइयो
आजको खबर | प्रकाशित : २०७५ साउन १३ गते १४:२८

काठमाडौँ । ८ औं अन्तराष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।
यसै अवसरमा चितवनका संरक्षणकर्मीहरुले बाघ संरक्षणका लागि चितवनको टिकौली जैविक मार्गमा सवारी सावधानी अपनाउन अपिल गर्दै स्टिकर एवम् पम्प्लेट वितरण गरेका छन्।
बाघ संरक्षण उपसमिति सौराहाको आह्वानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै संरक्षणकर्मीहरुले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० पु¥याउने सरकारको लक्ष्य पुरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा बाघको संरक्षण गर्नुपर्ने आवश्यक्ता चित्रण गरिएको प्ले कार्डपनि प्रर्दशन गरिएको थियो । चितवनमा यस वर्ष मात्रै ६ वटा बाघ कालगतिमा मरेको उल्लेख गर्दै बाघको बासस्थान बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ।
बाघको संख्या बढाउन आवश्यक बास स्थान र उचित आहारा व्यवस्थापनको काममा आफूहरु लागि परेको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख एवम् सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।
नेपालमा हाल १ सय ९८ वटा बाघ रहेको सरकारी तथ्यांक छ । जसमध्ये १ सय २० वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ। यो निकुञ्जलाई बाघको सबैभन्दा उपयुक्त बास स्थानको रुपमा लिने गरिन्छ। विश्वमा करिव साँढे ३ हजारको हाराहारीमा बाघ रहेको दावी गरिएको छ।