प्रलोभनमा परेर शहरिया महिला नै दिल्लीको कोठीमा बेचिन्छन्

आजको खबर   |    प्रकाशित : २०७५ साउन १४ गते १३:१२

नारायण अधिकारी
चितवन । दूर्गम र पहाडी क्षेत्रका निरक्षर मात्र होइन, शहरका शिक्षित महिलाहरु पनि मानव बेचबिखनमा पर्ने गरेका छन्। वैदेशिक रोजगारीका नाममा जागिर खाँदै गरेका र शिक्षित महिलाहरुसमेत बेचबिखनमा परेका हुन्।

महिलाहरुको पुनःस्थापनामा क्रियाशील आदर्श नारी गृहकी सलाहकार मीना खरेलका अनुसार एउटा बैंकमा तल्लो तहमा काम गर्दै गरेकी एक महिलालाई उद्धार गरिएको छ। प्रवेशिका परीक्षा उत्तीर्ण गरेर पढ्दै गरेका पनि मानव बेचबिखनमा पर्ने गरेका छन्। गृहले गत आर्थिक वर्षमा २२ जनाको उद्धार गरेको छ। जसमध्ये ११ जना चितवनका छन्।

उनीहरु भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका हुन्। बैदेशिक रोजगारीका नाममा अधिकांशलाई फकाइफुलाई लैजाने गरेको पाइएको छ।

सिलाइकटाइ, व्युटिपार्लर, गार्मेन्टलगायतमा रोजगारी लगाइदिने भन्दै बेचबिखनका लागि लैजाने क्रम बढेको पाइएको छ। सलाहकार खरेल भन्छन, “केहि काम नगरी बसेका र सामान्य काम गरेकाहरुलाई काम सिक्दैमा रु २० हजार, त्यसपछि अरू धेरै तलब पाउने प्रलोभनमा पारिन्छ।”

भारतबाट युरोपसम्म जान पाउने, पासपोर्ट र नागरिकतासमेत दलालले नै बनाई दिने आश्वासन उनीहरुलाई दिने गरेका छन्।

गृहले दिल्लीको कोठीबाटै बेचिएका महिलाहरुको पनि उद्धार गरेको छ। उद्धार गरिएकाहरु दलित, जनजाति समुदायका बढी रहेका छन्। खुल्ला नाका भएकाले सहजै भारतीय बजारहरुमा यौन धन्दाका लागि यहाँका महिलाहरु बढी बेचिने गरेका देखिएका छन्। यससँगै अंग प्रत्यारोपण, सर्कस, डान्सबार, घरेलु कामदार, बन्धक बनाएर यौन शोषण, दासका रुपमा राख्न पनि महिलाहरु बिक्री हुने गरेको बताएका छन्।

मानव बेचबिखनमा परेका महिलाहरुको उद्धारमा क्रियाशील संस्था किङ्गडम इन्भेष्टमेन्ट (केआई) नेपालले गत आर्थिक वर्षमा उद्धार गरेकामध्ये नौ जना चितवनका छन्। जिल्ला संयोजक केमिका घिमिरेका अनुसार उनीहरुलाई वीरगञ्ज, सुनौली र भारतबाट उद्धार गरिएको हो। उद्धार गरिएकामा पनि भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकाका छन्।

यो संस्थाले पनि भारतका कोठीहरुबाट समेत बेचबिखनमा परेकाहरुलाई उद्धार गरेको जनाएको छ। बेचबिखनमा परेकाहरु धेरै पैसा कमाउने प्रलोभनमा फस्ने गरेको घिमिरेले बताए। धेरै कमाउने, मिठो खाने र घुम्ने प्रलोभनमा युवती र महिलाहरु बेचबिखनमा पर्ने गरेको पाइन्छ।

माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी जनवरी यता उद्धार गरिएका नौ जनामध्ये पाँच जना चितवनका रहेका बताउछन्। उनीहरुलाई ठोरी नाका, महेन्द्रनगर र भैरहवाबाट उद्धार गरिएको हो। उद्धार गरिएकामा भरतपुर महानगरको जगतपुर, ईच्छाकामना गाउँपालिकाको दारेचोक र कालिका नगरपालिकाको पदमपुरका छन्।

वैदेशिक रोजगारीमा जाने नाममा उनीहरु बेचबिखनमा परेका हुन्। दलालहरुले विभिन्न प्रलोभनमा सहजै फकाउन सक्ने भएपछि महानगर र नगर क्षेत्रका शिक्षित महिलाहरुसमेत फस्ने गरेको गिरीको तर्क छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा १० वटा मानब बेचबिखनका मुद्दा दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले १२ जनालाई पक्राउ गरी मानब बेचबिखनको मुद्दा दर्ता गरिएको बताए। ती मुद्दामा १३ जना फरार छन्।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा मानन बेचबिखनका नौ वटा मुद्दा दर्ता भएका थिए। जसमा सात जनालाई पक्राउ गरी कारवाही गरिएको थियो भने पाँच जना फरार छन् । सोही समयमा आठ जना महिलाको बिभिन्न नाकाबाट उद्धार गरिएको थियो।

युरोपियन देशहरुमा रोजगारी लगाइदिन्छु, परिवारलाई तत्काल राहत दिलाइदिने, विवाह गरेको नाटक गर्ने र नाता गाँसेर नाका पार गराउने काम बढी हुने गरेको पाइन्छ।

चितवन हुँदै ठोरी, वीरगञ्ज, सुनौली, कृष्णनगर, काँकडभिट्टा, विराटनगर, नेपालगञ्जलगायतका नाकाबाट भारत लगिने गरेको छ। अन्य जिल्लाबाट चितवनको बाटो प्रयोग गरेर बेचबिखनका लागि लैजाने गरेको पाइन्छ। भारतसँग खुल्ला सीमा भएकाले सहजै आवतजावत गर्न सकिने हुँदा दलालहरुलाई महिला बेचबिखन गर्न सहज भएको छ।

२०७५ साउन १४ गते १३:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर