स्तनपान गराउनेको संख्यामा सुधार

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १२:०७

विष्णु नेपाल
काठमाडौँ । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ।

सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो। सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ। राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले विश्व स्तनपान दिवसका सन्दर्भमा आज यहाँ जारी गरेको अध्ययन प्रतिवेदनमा नेपालमा १०० मध्ये ५५ जना शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइने जनाइएको छ।

बाँकी शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने एवं उनीहरुको निरन्तररुपमा स्तनपान गर्ने सम्भावना कम रहेको प्रतिवेदनले उजागर गरेको छ। विश्वमा जन्मेको एक घण्टामै स्तनपान नगराइने शिशुको संख्या सात करोड ८० लाख छ। यीमध्ये धेरै शिशु निम्न र मध्यम आय भएका देशका रहेका छन्।

प्रदेश सातमा सबैभन्दा बढी स्तनपान गराउने
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश नं ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ। प्रदेश नं २ मा सबैभन्दा कमअर्थात् ४५.३ प्रतिशत छ। सो प्रदेशमा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको थियो।

प्रतिवेदनले जन्मेको पहिलो घण्टामा स्तनपान गराएका नवजात शिशु जीवित रहने सम्भावना धेरै हुने औँल्याएको छ। प्रतिवेदन अगाडि भन्छ “केही घण्टामात्र ढिलो स्तनपान गराउनाले पनि जीवन जोखिममा पार्न सक्छ। आमा र शिशुबीचको प्रत्यक्ष स्पर्श र स्तनपानले आमाको दूध र बिगौती दूध उत्पादनमा सहयोग पुग्दछ। बिगौती दूध एकदमै पोषिलो हुन्छ। रोग प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुन्छ।”

शिशुको ‘पहिलो खोप’ को रुपमा स्तनपानलाई लिइन्छ। अर्कोतर्फ ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनले जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने कुरा महत्वपूर्ण भए पनि विभिन्न कारणले स्तनपानका लागि शिशु लामो समय प्रतिक्षा गर्न बाध्य रहेका छन्।

“बिगौती दूध फाल्ने, शिशुलाई मह चटाउने, पानीजस्ता तरल पदार्थ खुवाउने अभ्यासले आमाको पहिलो महत्वपूर्ण सम्पर्कबाट शिशु टाढिरहेका छन्,” प्रतिवेदन भन्छ। नेपालसहित विश्वका ७६ देशको तथ्यांक प्रतिवेदनमा विश्लेषण गरिएको थियो।

शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि

अर्कोतर्फ पाँच वर्षमा नेपालमा शल्यक्रियाबाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ। सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो। सन् २०१६ मा आइपुग्दा नौ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ। यसरी जन्मेका शिशुमध्ये कमैले मात्र एक घण्टाभित्र एक तिहाइले मात्र स्तनपान गर्ने मौका पाउँदछन्।

स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने प्रतिशत सामान्य सुधार देखिएको छ। सन् २००६ मा यो संख्या ३९ प्रतिशत थियो। सन् २०१६ मा ५५ प्रतिशतमा उक्लेको छ।

शिशुलाई जन्मनासाथ आमाबाट टाढा नराख्न र स्वास्थ्यकर्मीको सल्लाह बढाउन प्रतिवेदनले सुझाव दिइएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य पदार्थमा कडाइ गर्न र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई व्यावहारिकरुपमा कार्यान्वयनमा जोड दिएकोे छ।

२०७५ साउन १७ गते १२:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर