खुल्यो टमाटरको भारत निकासी

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ८:१२

फिदिम । संघीय सरकार, प्रदेश १ सरकार र स्थानीय प्रशासनको पहलमा विगत एक महिनादेखि रोकिएको टमाटर (गोलभेँडा)को भारत निकासी खुलेको छ । निकासी हुने कृषि उपजको सूचिमा नरहेको भन्दै भारतले टमाटर निकासी रोकेपछि पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकामा उत्पादित करोडौँ मूल्यको टमाटर बोटमै कुहिने अवस्था सिर्जना भएको थियो ।

संघीय सरकार र प्रदेश सरकारको निरन्तरको पहलबाट टमाटर निकासी तत्कालका लागि खुलेको प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । “टमाटर नेपालबाट भारत निकासी हुने कृषि उपजको सूचिमा नपरेकै रहेछ” मन्त्री आङ्बोले मेची पोष्टसँग भने “भारतमा प्रशस्तै उत्पादन भएको सिजनमा टमाटर निकासी हुने सूचिमा छैन भनेर निकासीमा अवरोध गरिँदै आएको रहेछ ।”

भारतले स्वदेशी उत्पादनले नपुग्ने भएको अवस्थामा विना रोकटोक टमाटर आयात गर्दै आएको पाइएको मन्त्री आङ्बोले जानकारी दिए । यस वर्ष भारतमा प्रशस्तै टमाटर उत्पादन भएको तथा माग पूरा गर्ने टमाटर भारतमै उत्पादन हुँदा भारतीय टमाटरको मूल्य कम भएकाले समेत नेपाली टमाटर निकासीमा अवरोध सिर्जना गरिएको पाइएको छ ।

एक महिनादेखि ठप्प भएको टमाटरको निकासी खोल्न नेपाल र भारतको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयवीच सम्वाद भएको थियो । सम्वादपछि भारत निकासी खोल्न तयार भएको मन्त्री आङ्बोले जानकारी दिए । टमाटर लगायत नेपाली कृषि उपजहरुको भारत निकासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न संघीय सरकारका सहसचिवको नेतृत्वमा कार्यदल समेत गठन भएको छ ।

कार्यदलले निकासी हुने कृषि उपजहरुको सूचि समेत बनाउनेछ । “कार्यदलले सिफारिस गरेपछि दुई देशका बाणिज्य मन्त्रालयवीच निकासीको समस्या समाधान गर्ने समझदारी हुनेछ” मन्त्री आङ्बोले भने “यस पछि नेपालका कृषि उपजको निकासीमा रहेका समस्या समाधान हुनेछन् ।”

प्रदेश सरकारले नेपाली उत्पादनको स्वदेशीमै खपत हुने अवस्था सिर्जना गर्न पहल थालेको मन्त्री आङ्बोको भनाई छ । “स्वदेशमै खपत बढाउनुपर्ने आवश्यकता छ” मन्त्री आङ्बोले भने “यसका लागि बजारिकरण र प्रशोधनको व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले बजारिकरण र प्रशोधनको व्यवस्था मिलाउन पहल थालेको छ ।”

टमाटरको निकासी खुलाउन पहल गरेको कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले टमाटरको भारत निकासी खुलेको जानकारी दिए । “निकासी खुलेपछि कृषकको पसिना टमाटरको बोटमै कुहिनबाट बचेको र आम्दानी सुरु भएको छ” पोखरेलले भने । यद्यपी विगतमा जस्तै भारतीय भन्सारका कर्मचारी घुस खुवाएर मात्रै टमाटर निकासी गर्न सम्भव भएको उनले वताए ।

पाँचथरको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकामा बर्षेनि करोडौँ मूल्य बराबरको टमाटर उत्पादन हुने गरेको छ । टमाटरको निकासी रोकिँदा यस क्षेत्रका कृषक मारमा परेका थिए । कृषकहरुले केही समय अघि विरोध स्वरुप विक्री हुन नसकेको टमाटर सडकमा फालेर विरोध समेत जनाएका थिए । यस्तै व्यापार प्रवद्र्धन केन्द्रका उपनिर्देशक सहितको टोलीले कृषकको समस्या स्थानीय स्तरमै पुगेर बुझेको थियो ।

पूर्वी पहाडमा उत्पादित कृषिजन्य उत्पादन झापाको कृषि थोक बजार हुँदै पश्चिम बंगालको सिलिगुडी निर्यात हुने गरेको छ । पाँचथर हिलिहाङ गाउँपालिका १, २, ३, ४, ६ र ७ नम्वर वडा तथा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ मा करिव १२ हजार किसानले व्यवसायिक रुपमा टमाटर उत्पादन गर्ने गरेका छन् ।

१० वर्ष अघिवाट व्यवसायिक रुप लिएको त्यस क्षेत्रको टमाटरवाट गत साल मात्रै रु. १५ करोड वढीको आम्दानी भित्रिएको कृषकहरुको भनाई छ । तर, यस वर्ष निकासीमा विभिन्न कारण देखाई भएको अवरोधपछि करिब रु. एक करोड रुपैँया मूल्यको टमाटर विक्री भएको उनीहरु वताउँछन् । हिलिहाङ र याङवरक गाँउपालिकामा मात्रै करिव १५ सय घरधुरी किसानहरुले अन्य वालीको विकल्पमा टमाटर उत्पादन गर्दै आएका छन् ।

२०७५ साउन २२ गते ८:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर