पोखरामा १३ वर्षकी बालिका मृत भेटिइन्, बलात्कारपछि हत्या भएको आशंका
आजको खबर | प्रकाशित : २०७५ भदौ १० गते ०:४९

पोखरा । कञ्चनपुरमा भएको बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना सेलाउन नपाउँदै फेरि पोखरामा यस्तै शंखास्पद घटना घटेको छ । एक किशोरीको शव फेला परेको हो । १३ वर्षकी पुष्पा केसीको शव फेला परको हो ।
केसी विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी थिइन् । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी पुष्पाको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको हो । घटना स्थलको प्रकृति हेर्दा पुष्पाको बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ ।
मृतकको स्कर्ट शव भएको स्थान भन्दा अलि पर भेटिएपछि स्थानीयले आशंका गरेका हुन् । पुष्पाको योनाङ्गबाट रक्तश्राव भएको पाइएको स्थानीयले बताएका छन् । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने बताएको छ ।
पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् । कक्षा १ मा अध्ययनरत बहिनीसंग बिहीबार स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् ।
तर, उनी घर फर्किएनन् । अर्कोदिन सोधिखोजी गर्दै जाँदा झाडीमा उनको शव भेटिएको थियो । पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।