कथा-‘परदेशीका लागि दसैँ’-माधब भण्डारी ‘पृथक’

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते ४:३७

चितवन । कान्छा ए कान्छा कति सुत्छस् बिहानको ७ बजि सक्यो। आज दशैको दिन उठेर नुहाइ धुहाइ पुजा पाठ गर्नु पर्दैन। बुबाको त्यो ठुलो ठुलो आवाजले अलि अलि भाको निन्द्रा पनि कुलेलाम ठोक्यो। फेरि पनि अल्छी लागिरहेको थियो। श्रीमती ज्युले अगाडि चियाको कप राखिदिदै भनिन, हजुरलाई कत्ती मज्जा छ। बुढो भाको बाउ बिहानै उठेर कति काम गरिसक्नु भो। हजुर चै सुतेरै बस्नु। सुत्न त हो नेपाल आउने भन्न मन थियो तर भनिन। कत्ति काराउँछे काली भन्दै उठे। तेति बेलासम्म घरमा ममि र बुढी मिलेर पाहुना इष्ट मित्रका लागि भोजन तयार गरिसकेका रहेछन। बुबाले उठेर दाउरा चिर्दै हुनुहुदो रहेछ। अलिक लाज पनि लाग्यो फेरि तन्देरी भएकोले गर्दा खै बुबा म चिर्छु दाउरा भनी अगि सरे।

बुढीले पछाडिबाट मुसुमुसु हाँसी जिस्काइ रहेकी थिइ। उसलाई लाग्थ्यो मैले कहिले यस्तो काम गरेकै छैन। फरक यत्ती थियो मैले भनेको थिइन। घरबाट फोन आउँदा हामी परदेशीले दिने जवाफ सायद एउटै होला। सन्चै छु चिन्ता नगर्नु। तर परदेशमा रहुन्जेल सन्चो र शान्ती भन्ने कुरा कहिले भएन। आखिर यो मनै त रहेछ ठुलो भन्ने। जे जसो गरे पनि मनै नमाने पछि केही लाग्दो रहेनछ। थाहा छैन के भएको हो अनि के रोग लागेको हो।

एकोहोरो घर को याद मात्र आइरहने। दशै तिहार अनि साथिभाइ अनि ती पखेरा अनि गाउको याद आइरहने। आखिर परदेशीलाइ दशै तिहार होइन याद आउदो रहेछ।कान्छा ए कान्छा सबै आगन खनेर के गर्नु भाको। बुढी पछाडीबाट कराउदै रहिछे।

दाउरा भन्दा बढी त मैले आगन नै खनेको रहेछु।ममिले भित्र बोलाउनु भाछ जानू रे भन्ने श्रीमतीको आदेशले म भित्र छिरे। ममिले दशैको खर्चको विवरणबारे मलार्इ सुनाउनु भो। परदेशबाट धन कमाएर आको छोरो अलिअली पैसा त होला नि भन्ने सोच्नु होला। मैले म छु नि ममि चिन्ता नगर्नु। मैले बीस हजार साटेर लिएर आको छु हिजो बैंकबाट भने। साचै हामी गरिबलाई दशै पनि त दशा नै हुदोरहेछ। धन्न ममिले मैले सिक्री बेचेको थाहा पाउनु भएन। घर आउने बेला कम्पनीले तलब नदिएर साथीहरुले पैसा संकलन गरेर टिकट काटेर आएको कुरा भन्न मन लागेन।लाग्यो छोरो भएपछि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।

यो दशै जसो तसो टारौला। घर आउँदा रित्तो झोला लिएर एअरपोर्टमा झोला हराएको कुरा सुनाउँदा मेरि सानी छोरीको सपना चकनाचुर भएको थियो। बाबाले छोरीलार्इ नारायणगढमा नयाँ नाना किनिदिन्छु नि भने पछि कत्ती बेरमा शान्त भएकी थिइ। आएको दिनबाट आजसम्म पनि किन्दिन सकेको छैन। न त उसले भन्न छोडेकि छे। बाबा कहिले जाने हामी बजाररु मैले जवाफ दिन सकिन। मैले छोरिको प्रश्नको जवाफ होइन सायद खुसी पनि दिन सकेको छैन क्यारे यस्तो लाग्थ्यो। टीका लगाउने साइत भयो।बुबाले डाक्नु भयो।

आयो आयो साइत भैसक्यो भरि ससुराली पनि जाने होला क्यारे बेलैमा निस्कनु पर्छ। म पहिला भन्दै छोरी अगि सरि हजुर बुबाले सबै भन्दा पहिले नातिनीलाई टीका लगाइदिदै राम्रा राम्रा आशिर्वाद दिनुभयो। अनि फेरी बुबाले ममिलार्इ अनि मलार्इ टीका लगाइदिनु भो अनि भन्नु भो अलिक बाठो बन्नु सायद बाबाको लागि म अलिक सोझो रहेछु क्यारे। मलार्इ बाउ आमाको लागि सोझो र दुनियाँका लागि बाठो बन्नु थियो। किनकी बाठो छोरोहरु अलग बसेको धेरै देखेको छु। यत्तिकैमा मेरो टीका लगाइदिने पालो आयो।बिहे गरेको ३ वर्षसम्म नि बुढीलाई दसैँको टीका लगाइदिन पाको थिइन्।

टीका लगाइदिदै सधै बुढाको ख्याल गरेस्। इज्जत गरेस अनि माया गरेस भने। यी सब भन्न आवश्यक थिएन। अरु कुरा भन्न आएन। त ससुराली नजा रे तेरो दिदीले तलाइ भेट्ने रे। भनेर ममिले भन्नू भो। कुर्नु नै पर्यो एउटा दिदी फेरी भिनाजु पनि परदेशी यस पाली आउछु भन्नु हुन्थ्यो। छुट्टी नै पाउनु भएन।

मन खुसिले गदगद भैरहेको थियो। परिवारको साथ दशै तिहार मनाउन पाउँदा साच्चै निकै रमाइलो महसुस हुदोरहेछ। फरक यत्ती हो धनीले दशै धुम धाम मनाउलान। हामी गरिबले हाम्रो औकातले भ्याए अनुसारको मनाउला। तर मन को शान्ति र सुख त एउटै हुदो रहेछ। भोक लाग्यो भने खान खानुस क्यारे। बुढीको यो आवाजको प्रतीक्षा म पहिले देखि गरिराखेको थिए।

हिजो बेलुकाबाट खासै खाना पनि रुचेको थिएन। आज त निकै भोक पनि लागेको रहेछ। साच्चै दशै त सकियो त है बुढी। सकिएको छैन पूर्णिमासम्म टीका लगाउँदै हिंड्नु पर्छ।

म हाँसे हाहाहाहाहा मेरो हासो अलिक बढी नै भएछ क्यारे पल्लो बेडको साथि रिसाउँदै के हो माधब जि हामिलार्इ सुत्न पनि नदिने। भनी झर्कियो सायद घरमा भएको भए। बुढीले किन हास्नु भो। के सपना देख्नु भो भनी सोध्थी होला। यत्तिकैमा फोनको घण्टी बज्यो, फोन दाइले गर्नु भाको रहेछ कतारबाट।

ल कान्छा म त घर हिँडे दशै मनाउन। छुट्टी पाए आइज क्यारे संगै जाउ घर भन्नु भो। जानुस दाइ म त सपना मै घर पुगेर आइसके भने दाइ हास्नु भो। शुभयात्रा दाइ भने। कम्पनिको कामले गर्दा हप्तामा पाउने छुट्टी त नपाको २ हप्ता भैसक्यो। का घर जाने छुट्टी पाउने। सपना मै भए पनि घर पुगेझै भान भयो।

दशै माने झै भान भयो। मन पर्फुल्ल भयो।लाग्यो साच्चै नै हामी हाम्रो देशमा नै खुसी रहेछौ। हामी हाम्रो परिवार सगै खुसि रहेछौ। झै लाग्यो। अब आउने सालको दशै घरको परिवार को साथ मनाउने अठोटका साथ अफिस तिर लागे।

२०७५ असोज ३० गते ४:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर