यसरी घटाउँदैछ एप्पलले आइफोनमाथिको निर्भरता

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ३ गते ६:४१

एजेन्सी । अमेरिकी कम्पनी एप्पलको कुल आयको अधिकांश हिंस्सा यसको सर्वाधिक लोकप्रिय उत्पादन आइफोनको बिक्रीले ओगट्ने गरेको छ ।

तर, विस्तारै एप्पलको स्मार्टवाचको रुपमा रहेको एप्पलवाच कम्पनी प्रभावकारी प्रोडक्टको रुपमा दह्रिने बाटोमा छ ।

पछिल्लो समय एप्पलका आइफोनहरु प्राविधिक उन्नयनमा अन्य प्रतिस्पर्धी कम्पनीहरु भन्दा खासै फरक हुन नसकिरहेको सन्दर्भमा एप्पलवाचले अग्रणी प्रोडक्टको रुपमा उपभोक्तामाझ आफूलाई स्थापित गर्न थालेको छ ।

आइफोन र एप्पल पर्यावाची जस्तै बनिरहेको अवस्थामा एप्पलवाचको प्रभावकारिता बढ्दै जाँदा भविष्यमा एप्पल कम्पनीको चिनारी मात्र बदलिने होइन, आम्दानीको सन्दर्भमा समेत आइफोनमाथिको निर्भरता कम हुने देखिन्छ । स्मार्टफोन प्रयोगकर्ताहरुमा आइफोनको हिस्सा घट्दै गएको छ ।

एप्पल इनसाइडरको रिपोर्ट अनुसार एप्पलले अत्याधुनिक फिचरसहितको एप्पल वाचको पेटेन्ट अमेरिकामा दर्ता गरेको छ । त्यसलाई इमेज क्याप्चरिङ एप्पलवाच भनिएको छ । यसको अर्थ अब एप्पलवाचमा क्यामरा पनि थप गर्ने योजना बनाएको छ ।

एप्पलको योजना दृष्टिगत गर्ने हो भने उसले एप्पलवाचमा एउटा मात्र होइन, दुईटा क्यामरा जडान गर्नेछ । पेटेन्ट दर्ता रिपोर्ट अनुसार घडीको फित्तामा दुईवटा क्यामरा हुनेछन् । दुवै क्यामरामा वाइड एंगल लेन्स हुनेछन् र लेन्सहरु एकसाथ तस्वीर खिच्नेगरी स्थापित गरिएका हुनेछन् ।

एप्पलवाचमा केवल क्यामरा मात्र होइन, फेस आइडी र फेस टाइम फिचर पनि हुने बताइएको छ ।

यदि एप्पलवाचमा क्यामरा थप भएमा यसले एप्पल प्रयोगकर्ताको आइफोनमाथिको निर्भरता झनै कम हुने आकलन गरिएको छ । जसका कारण एप्पलका उपभोक्ताको सबैभन्दा रोजाइको प्रोडक्टको सूचीमा एप्पलवाचले आइफोनलाई पछि पार्ने अनुमान पनि गर्न थालिएको छ ।

२०७५ मंसिर ३ गते ६:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर