काम गरेर जनताको विश्वास जित्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ९ गते १५:२६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिएका छन्।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षकको आधारभूत तालीमको आज दीक्षान्त समारोहमा गृहमन्त्री थापाले जनताप्रति समर्पित भई अनुशासित र लगनशीलताका साथ काम गर्न प्रहरीलाई निर्देशन दिए।

उनले नेपाललाई समृद्ध बनाउने सरकारको एकमात्र सङ्कल्प रहेकाले सुरक्षा निकाय जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले भन्नुभयो, “लोकतन्त्रको संस्कार, विधिको शासन, कानूनी राज्यको मूल मर्मलाई आत्मसात् गर्दै जनताप्रति पूर्ण बफादार रही सरकारका कामलाई इमान्दार र जिम्मेवारपूर्णरुपमा काम गर्न आग्रह गर्दछु ।”

नेपाल सरकारले दिएको कार्यदिशा सीमा सुरक्षा, अपराध नियन्त्रण, सशस्त्र समूहको गतिविधि नियन्त्रण, औद्योगिक सुरक्षा नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिँदै जनताको मन जितेर प्रभावकारी काम गर्न आग्रह गरे।

सशस्त्र प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा गर्दै गृहमन्त्री थापाले आफ्नोतर्फबाट सशस्त्र प्रहरी बलको सुदृढीकरण र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। उनले परिवर्तित समयानुसार सुरक्षा चुनौतीलाई सामना गर्न आवश्यक खतराको विष्लेषण गरी सुरक्ष बलियो बनाउन पनि आग्रह गरे।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देशका विभिन्न भागमा रहेर सशस्त्र प्रहरी बलले राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपत् विपद्को उद्धार कार्यमा राज्यले सुम्पिएको दायित्व पूरा गर्दै आएको बताए।

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीममा तीन महिलासहित कूल ५४ तथा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीममा एक महिलासहित १० प्रशिक्षार्थीको सहभागिता थियो ।

२०७५ मंसिर ९ गते १५:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर