कविता–‘बिर्सिएको कुरा’– राम योन्जन ‘गाउँले’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १० गते २:०१

उसले त बिर्सिएछ मलाई
र बिर्सिएछ हाम्रो
कुइनेटो जस्तो अप्ठ्यारो भेटघाट
ओरालोमा पानी झरे जस्तो
सजिलो भेटघाट
हो रैछ सबै सबै बिर्सिएछ।
मैले नबुझिकन,
मुटुको धड्कनले बुझिसकेको पल
एक थुङ्गा बिहानी
हाम्रै आँखाबाट उम्किएर
दुबै निधार टेक्दै टेक्दै
यहीँबाट भागेको पल पनि बिर्सिएछ।
अचेल१
साँझ स्वतन्त्र छोडेको छु
तर पनि
उम्किएर कहीं भाग्दै भाग्दैन
किन आँखामा?
बाँचिरहन चाहादैन उज्यालो?
सायद ः आकाशले
अझै अग्लिएको सपना देखेछ क्यारे।
उसले बिर्सिएपछि
मैले सम्झिएँ
माटो जस्तो हुनु
उमार्ने क्रम विभेद रहित
पानी हुँदा जरुवामुल जस्तो हुनु
हजुरबाको यही आशिर्वाद सम्झिएँ।
बाटो छुट्नु भन्दा पहिले
मन टुट्नु भन्दा पहिले
र समयले
जवानी लुट्नु भन्दा पहिले
यदि सम्बन्धको फर्मूला
यति धेरै सम्झिएको भए
धमिलो कहिल्यै हुने थिएन
हृदयमा जमेको
वर्षौंदेखिको सम्बन्धको पानी।
ती छरिएका चिजहरु
चाहे फूलहरुको मुस्कान होस्
चाहे हृदयको सुन्दर तस्बीर नै होस्
या मुटुले छरेको
मुटुकै हिरा मोति होस्
टिपेर सजाउन मिल्दैन पैतालाहरुले
उ त केबल टेकेर जाने हो।
पैतालाहरुको लागि
उस्तै हो, एउटै हो
सुगन्धित फूल र बेकारको झार।
सुन्दरताको गहन अर्थ
केवल आँखासँग मात्रै हुन्छ
मुटुको रङ्ग
मुटुले मात्रै छुट्याउन सक्छ
प्रेमको देउराली छोएर
मनको गीत
मनले मात्रै गाउन सक्छ।
यति हुँदाहुँदै पनि
तिमीले बिर्सिएछौ मलाई
मैले त अझ धेरै सम्झिएँ
तिमीले बिर्सिएको कुरा
म त अझ धेरै सम्झिरहेछु
त्यही तिमीले बिर्सिएको कुरा।

२०७५ मंसिर १० गते २:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर