आज अन्तर प्रदेश परिषद्को बैठक बस्दै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २३ गते ५:०८

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) अन्तरप्रदेश परिषद्को बैठक आह्वान गरेका छन् ।

मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारवाहीको विषयमा बैठकमा समीक्षा हुनेछ ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ । बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गर्नेछन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनेछन् ।

सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ ।

कुनै विषयमा विवाद भएको अवस्थामा त्यो विषयसँग सम्बन्धित नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्थासमेत रहेको छ ।

यस्तै अन्तर प्रदेश परिषद्को बैठकसम्बन्धी कार्यविधि सो परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने संवैधानिक व्यवस्था छ ।

२०७५ मंसिर २३ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर