मानव जीवनका यि महत्वपुर्ण सिद्धान्त सगँ तपाईको व्यवहार मेल खान्छ त ? नैतिकवान् बन्न यि बिचार अपनाउनुहोस् ,

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २४ गते १६:१९

धनी हुन्, सम्पन्न हुन्, धेरै पढ्नु, उच्च तहका कर्मचारी हुनु, प्रतिष्ठित हुनु भन्दा फरक हो, सभ्य हुनु । जबकी यी सबै कुरा त्यसबेला मात्र सार्थक हुन्छ, जब हामी सभ्य हुन्छौं ।

सभ्यताको कुरा गर्नसाथ हामी उन्नत मुलुकहरुको जीवनशैली अनुसरण गर्न थाल्छौ । हामीलाई लाग्छ, सुकिलो लुगा लगाउनु, नयाँ प्रविधिसँग अभ्यस्त हुनु, महंगा रेष्टुरेन्टमा पसेर विश्वप्रशिद्ध मेनुमा काँटाचम्चा चलाउनु, ब्रान्डेड पसलमा सपिङ गर्नु । अर्थात भोग(विलासमा आफुलाई अभ्यस्त गराउनु ।

तर, सभ्य हुनु भनेको सुकिलोमुकिलो हुनु हो ? महंगा लुगा लगाउनु हो ? भव्य रेष्टुरेन्टमा डिनर गर्नु हो ? ठाँटले हिँडडुल गर्नु हो ?

मानविय व्यवहारको कुरा

सभ्यता भनेको संस्कारसँग जोडिएको कुरा हो । यो मानविय व्यवहार र भावनासँग एकाकार भएको कुरा हो । सभ्य हुनुको अर्थ सुशिक्षित, सुशोभित हुनु मात्र होइन स(सना मानविय व्यवहारहरुमा आफुलाई अभ्यस्त गराउनु पनि हो । आत्मअनुशासन पालना गर्नु हो ।

तपाईं आफ्ना बालबच्चा डोहोर्‍याउँदै हिँड्नुहुन्छ, कुनै भलाद्मी अगाडि हिंस्रक कुरा गरिरहेका छन् । ति भलाद्मी असभ्य हुन् ।

तपाईं सार्वजनिक स्थानमा हुनुहुन्छ, कुनै जेन्टलमेन शानदार ढंगले चुरोट तानिरहेका छन् । ति जेन्टलमेन असभ्य हुन् ।

तपाईंको घरमा रोगी बुवाआमा छन्, कुनै छिमेकी धुमधामसँग होहल्ला मच्याएर भोज गर्छन् । ति छिमेकी असभ्य हुन् ।

तपाईं व्यस्त सडकमा जेब्रा क्रसबाट बाटो काट्दै हुनुहुन्छ, कुनै महापुरुष तिब्र गतिमा गाडी हुँइक्याउँछन् । ति महापुरुष असभ्य हुन् ।

आचरणको कुरा

सभ्य हुनु र असभ्य हुनु भनेको उनको बोली व्यवहार, आचरणको कुरा हो । कुनै सुटेटबुटेट व्यक्ति पान खाएर भित्तामा प्याच्च थुक्छन् । कुनै यात्रु सार्वजनिक यातायातमा ठेलमठेल गर्दै अरुलाई पेल्छन् । कुनै सरकारी अधिकारी सेवाग्राहीप्रति रुखो व्यवहार गर्छन् । यी सबै असभ्य हुन् ।

असभ्य हामीलाई हाम्रै अंहकार, दम्भ, कुसंस्कार आदिले बनाउँछ । र, असभ्य व्यक्तिले समाजलाई बोझिलो बनाउँछ ।

हामी अक्सर चोर, अपराधी, फटाह आदिको कारण दुख पाउँछौं भन्ने सोच्छौं । तर, आफ्नो अघिल्तिर चुरोटको धुँवा उडाउँदै हिँड्ने व्यक्तिको कारण पनि दुख पाउँछौं । आफ्नो नजिकमा चर्को आवाजमा गाली गर्दै वा छिल्लिदै हिँड्ने व्यक्तिको कारण पनि दुख पाउँछौं । यसरी आफ्नो कारणले अरुलाई दुख, कष्ट, पीडा दिने नै असभ्य चरित्र हुन् ।

शिष्टचारको कुरा

हामी सभ्य समाजको निर्माण गर्नुपर्छ भन्छौं । सभ्य समाज निर्माणका लागि धनाड्य भएर हुँदैन । पढेलेखेका भएर मात्र हुँदैन । केवल मानविय व्यवहार हुनुपर्छ ।

हामी कुनैपनि काम गर्दा, कुनैपनि व्यवहार गर्दा, कुनैपनि कुरा बोल्दा, त्यसले अरुलाई असर गर्छ वा गर्दैन भन्ने कुरामा हेक्का राख्नुपर्छ । जब हाम्रो बोली, व्यवहार आदिले अरुलाई असहज हुन्छ, वाधा हुन्छ, पीडा हुन्छ भने त्यो हाम्रो ‘असभ्यपन’ हो ।

शिष्ट, सभ्य बन्नका लागि हामी अनेक यत्न गर्छौं । कसरी खाने, कसरी लुगा लगाउने, कसरी बोल्ने आदि कुरा सिक्छौ । तर, यी कुरा सिकेर होइन, अनुभूत गरेर पालना गर्ने हो । यसका लागि आत्मअनुशासन पालना गर्नुपर्छ । किनभने सभ्य, शिष्ट हुनु भनेको अरुलाई देखाउन वा प्रभावित गर्न होइन । आफुले आफैलाई असल, विनयी, विनम्र बनाउनु हो ।

सकारात्मक चिन्तनको कुरा

अतः आफ्नो बोली(व्यवहार सुपाच्य र सुमधुर बनाउनका लागि हाम्रो मनस्थिती परिवर्तन हुनुपर्छ । अरुले केही भन्छ कि भन्ने भयले वा अरुले तारिफ गर्छन् कि भन्ने मोहले होइन, मानविय गुणले युक्त भएर व्यवहार गर्नुपर्छ । यस्तो व्यवहार, जसले अरुलाई कुनै हानी(नोक्सानी नहोस् । यस्तो व्यवहार जसले अरुको चित्त नदुखोस् । यस्तो व्यवहार, जसले अरुलाई बोझ नबोकायोस् ।

यसका लागि सकारात्मक सोंच, चिन्तनको आवश्यक हुन्छ । अरुले के गर्छन् भन्ने होइन, आफुले के गर्नुपर्छ भन्ने मानसिकता हुनुपर्छ । तब मात्र सभ्यता झल्कन्छ ।

२०७५ मंसिर २४ गते १६:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर