निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको देउवाको आरोप

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २९ गते १५:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनकपुरकी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन्।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गरेका हुन्।

मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उनले उल्लेख गरे। संघीयता नै असफल बनाउने षडयन्त्रमा सरकार लागेको पनि उनले दाबी गरे।

वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उनले त्यस विरुद्ध शसक्त प्रतिकार गर्नुपर्ने बताए। महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए।

मुलुकका ठुला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठुलो योगदान रहेको चर्चा गर्दै उनले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गरे। पार्टी भित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टी कै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुदै आएको पनि उनले उल्लेख गरे।

उनले पार्टी भित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गरे। पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व रहेको भन्दै उनले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गरे।

२०७५ मंसिर २९ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर