कूटनीतिक सम्बन्ध सुदृढ बनाउन चीन र अमेरिका प्रतिवद्ध

आजको खबर   |    प्रकाशित : २०७५ पुष १८ गते ५:५१

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

सन् २०१८ मा बेइजिङ र वासिङ्टनबीच व्यापार विवादका कारण तनाबको स्थिति रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गरेका छैनन्। गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताएको सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपतिलाई पठाएको सन्देशमा चिनियाँ राष्ट्रपति सीले दुवै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताइएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताएका छन्। पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब तीन सय अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए। चिनियाँ व्यापारिक अभ्यास अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनविरुद्ध व्यापारिक युद्ध नै चलाएका थिए। चीनको व्यापारिक अभ्यासप्रति युरोपेली संघ र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए।

अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रको शिखर बैठक जी–ट्वान्टीको अवसरमा दुवै राष्ट्र प्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो। व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो। चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सोही वर्ष चीनका नेता देङ सियाओपिङले संयुक्त राज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङ्टनमा भेट गरेका थिए। त्यसयता दुवै मुलुकबीचको सम्बन्धमा नाटकीय रूपमा परिवर्तन आएको छ। विगत ४० वर्षमा ताइवान, मानवअधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन्।

२०७५ पुष १८ गते ५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर