बालगृहलाई सहयोग

आजको खबर   |    प्रकाशित : २०७६ असार २२ गते ५:२७

जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताउनुभयो । अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी दाताले आर्थिक सहयोग गरेका हुन् ।

 

सूचनाको हकका अभियन्ता शेरबहादुर सार्कीको पहलमा भारतको दिल्लीमा सङ्कलन गरेको रु २६ हजार ६०० सहयोग गरिएको छ भने दलित एकता समाज नेपाल–भारतमा आवद्ध नेपालीले सहयोगस्वरुप रकम पठाएको छ । बालगृहभित्र अधिकांश दलित समुदायकै बालबालिका रहेको खबरपछि आफूहरुले शुरुवातस्वरुप सहयोग पठाएको र यसलाई निरन्तरता दिने एकता समाजले बताएको छ । एकता समाजले बुढीगङ्गा नगरपालिकास्तरीय परीक्षामा तृतीय स्थान ल्याउन सफल बालगृहमै बस्ने सङ्गीता विकलाई व्यक्तिगत रु १० हजार सहयोग गरेको छ । यस्तै धुरालसैन माविमा कार्यरत शिक्षक अर्जुन थापाले पनि व्यक्तिगत रु २५ हजार सहयोग गर्नुभएको छ ।

 

मद्यपान, धुमपान र मदिराजन्य पदार्थबाट टाढा रहने बचनबद्धतासहित सोका लागि खर्च हुने रकम कटाएर अनाथ बालबालिकालाई सहयोग गरिएको शिक्षक थापाको भनाइ छ । बालगृहमै आएर शनिबार अध्यक्ष बहादुर थापालाई रकम बुझाएका थापाले अनाथलाई सहयोग गर्न पाउनु अवसर भएको बताउनुभयो । त्यस्तै बुढीगङ्गा नगरपालिकास्तरीय दलित नेटवर्कले खान तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि भन्दै रु ४० हजार सहयोग गरेको छ । दलित नेटवर्कका महासचिव एवं बुढीगङ्गा नगर कार्यपालिका सदस्य गणेश सुनारले नगद रु ४० हजार अनाथ बालबालिकाकै लागि सहयोग गर्नुभएको छ । कन्सन बाजुराको बालगृहमा हाल १३ अनाथ बालबालिका बस्दै आएका छन् ।

 

कान्छो अभियन्ता केपी खनालको पहलमा निर्माण गरिएको बालगृहको निर्माण खर्च अझै तिर्न बाँकी छ । कूल लागतको रु १३ लाख बढी रकम केपी खनालले सङ्कलन गर्ने क्रम जारी रहेकाले तिर्न बाँकी रहेको अध्यक्ष थापाको भनाइ छ । थापाले नगरपालिकाले सहयोगका लागि चासो नदेखाएकामा गुनासो गर्नुभयो । बालगृह विसं २०७२ देखि सञ्चालनमा छ ।

२०७६ असार २२ गते ५:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर