राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गर्नुभयो । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो ।

 

उहाँले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।” अर्थमन्त्री डा युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भन्नुभयो ।

 

लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले मुलुकलाई विद्युतीय र बंैकिङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो । अर्थमन्त्री डा खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

 

बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारस्थित केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भए पनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको जनाउनुभयो । कूल रु दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।

२०७६ असार २३ गते ७:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर