अवैध रुपमा नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिला पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ५ गते ९:३७

काठमाडौँ । अवैध रुपमा भारतको नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिला पक्राउ परेका छन् । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा रहेको पुलिस स्टेशनले उनीहरूलाई पक्राउ गरेको हो । अवैध रुपमा कुवेत पुगेको खुलासा भएपछि उनीहरूलाई कुवेतबाट दिल्लीमै फिर्ता पठाइएको भारतीय पत्रिका अमर उजालाले समाचार छापेको छ।

पक्राउ पर्नेमा लक्ष्मी, शोभा र रुपा नाम गरेका महिला छन् । तर उनीहरुको थर र ठेगाना भने  खुलाइएको छैन । प्रहरीको नियन्त्रणमा रहेका उनीहरुसँग अहिले सोधपुछ भइरहेको बताइएको छ।

नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्लीको अन्तराष्ट्रिय विमानस्थल पुगेका उनीहरु सिधै अर्को जहाजमा चढेर बहराइन हुँदै कुवेत पुगेको समाचारमा उल्लेख छ । उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउन नेपाल एयरलाइन्सका कर्मचारीको  सहयोग रहेको हुन सक्ने आशंका गरिएको छ।

तीनै जना खाडीमा काम गर्न चाहन्थे, तर खाडी मुलुकहरूमा जानको लागि उनीहरूसँग सम्बन्धित कागजातहरू थिएनन्। दिल्ली अध्यागमनलाई उनीहरूले आफ्नो राहदानीमा नेपाल अध्यागमनको नक्कली छाप लगाएर झुक्काएको बताइएको छ । नेपालबाट दिल्ली उड्दा उनीहरूले राहदानीको सट्टा आफ्नो मतदाता परिचयपत्र देखाएको बुझिएको छ।

जालसाजी गरेर कुवेत पुगेका उनीहरूको कर्तुत त्यहाँको अध्यागमनले थाहा पाएको थियो। उनीहरूलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको समाचारमा जनाइएको छ।

२०७६ कार्तिक ५ गते ९:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर