गृहमन्त्रीको निर्देशनमा निर्मलाको न्यायका लागि टाँसिएको पोष्टर प्रहरीले च्यातिदिए
आजको खबर | प्रकाशित : २०७५ मंसिर १४ गते १३:१६
काठमाडौैं । गत सोमबार योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेसँगै सरकारले नेपालमा नयाँ युगको सुरुवात भएको प्रचार गर्यो ।
घोषणा कार्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नदेख्नेहरुलाई सरकार देखाउनको लागि कार्यक्रम ल्याइएको दाबी गरे । प्रधानमन्त्री ओलीले कार्यक्रमको औपचारिक घोषणा गर्नुअघिको पूर्व सन्ध्यामा ओलीको तस्बिर अंकित पोस्टर टाँगिएको थियो।
सामाजिक सुधार योजनाको घोषणा कार्यक्रममा तयारी चलिरहँदा अधिकांश पत्रपत्रिकाहरु पनि ओलीको तस्बिर अंकित विज्ञापनले रंगिएका थिए। एउटा सरकारी कार्यक्रमको लागि तडकभडक बढि भएको भन्दै त्यसको ओलाचना जारी छ ।
प्रधानमन्त्रीले भाषणमार्फत सरकार जताततै छ भनिरहँदा कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको परिवेशमा सरकारलाई दबाब दिने उद्देश्य सहित अभियन्ताहरुले काठमाडौंका विभिन्न स्थानमा प्रधानमन्त्री ओलीको पोस्टर टाँगिएको स्थानमै निर्मला पन्तका तस्बिर टाँसे।
काठमाडौँका विभिन्न स्थानमा ओलीकै तस्बिरमुनि बुधबार राति टाँसिएका निर्मलाका तस्बिर प्रहरीले गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा बिहीबार हटाउन सुरु गर्यो।
अभियन्ताहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर निर्मलाको तस्बिरसहित टाँसेका थिए । शुक्रबार फेरि पोस्टर टाँस्न हिँडेका १२ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको छ।
गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। न्याय नपाएपछि उनका पिता यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको छ। उनको शिक्षण अस्पतालमा उपचार हुँदैछ।