मोदीको शपथ ग्रहणमा सहभागी प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ता पनि गर्ने
आजको खबर | प्रकाशित : २०७६ जेठ १६ गते १:३२
काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जान लागेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता पनि हुने भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार मोदीले शपथ ग्रहण समारोहमा सहभागी हुने राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय वार्ताको कार्यक्रम पनि बनाएका छन् । द्विपक्षीय वार्ता हुने भनिए पनि नेपालले उठाउने विषयमा भने नेपालका तर्फबाट कुनै जानकारी दिइएको छैन ।
मोदीको दल भाजापा तथा गठबन्धन एनडीएले हालै भएको निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको थियो । ५४३ सिट मध्ये एनडीएले ३५२ सिटमा जित हात पारेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
अघि २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका मोदीको शपथ ग्रहण समारोहमा सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई दिल्लीले निम्त्याएको थियो । त्यति बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सो समारोहमा सहभागी भएका थिए ।
यो पटक भने मोदीले सार्कको सट्टा बिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएर सार्कको भविष्यमै प्रश्न उठाएका छन् । भारत र पाकिस्तानबीच बढ्दो तिक्तता तथा दक्षिण एसियामा बढ्दो चिनियाँ प्रभावलाई टक्कर दिन भारतले बिमस्टेकलाई उपयोग गर्ने रणनीति लिएको उसका पछिल्ला गतिविधिले संकेत गरेका छन् ।
भारतकै कारण २०१६ मा पाकिस्तानमा हुनुपर्ने सार्कको शिखर सम्मेलन हालसम्म हुन सेकेकोमात्र छैन नहुने होकी भन्ने आशंका उब्जिएको छ। हार्ल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ भने बिमस्टेकको अध्यक्षता पनि नेपालले गरिरहेको छ ।
यी दुबै क्षेत्रीय संगठनका पछिल्ला शिखर सम्मेलन नेपालमै भएका थिए । बिमस्टेकका सार्कका अफगानिस्तान र पाकिस्तान छैनन् । त्यस्तै म्यानमार र थाइल्याण्ड पनि बिमस्टेकका सदस्य राष्ट्र हुन् ।