नेपालमा सुनको मुल्य हालसम्मकै महंगो
आजको खबर | प्रकाशित : २०७६ असार ६ गते ०:५८
काठमाडौं । नेपालमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ६४ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजारमा कारोबार भयो बुधबार छापावाल सुनको मुल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको थियो । एकै दिन एकहजारका दरले मुल्य बढेपछि सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७० साल भदौ १२ गते सुनको प्रतितोला मूल्य सबैभन्दा धेरै ६३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै २०७५ साल फागुन ८ गते पनि सुनको मूल्य ६३ हजार ३०० नै कायम भएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रतितोला एकहजार कर बढाउने प्रस्ताव गरेपछि जेठ १५ पछि सुनको मुल्य ६० हजार पुगेको थियो । जेठ १५पछि सुनको मुल्यमा लगातार वृद्धि भइरहेको छ । नेपालमा सुनको मुल्य बढ्नुको कारण आन्तरिक बजार नभइ वैश्वीक हो । इरान र अमेरिकाबीच बढ्दो तनावका कारण तेलको मुल्यमा भएको वृद्धिले सुनको मुल्य पनि बढाएको हो । अमेरिकाले इरानको तेलमाथि प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य पनि बढिरहेको छ ।
बिहे तथा मुूख्य चाडपर्वको सिजनमा नेपाली बजारमा दैनिक ४० किलोसम्म सुनको बिक्री हुने गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अफ सिजनमा दैनिक १० किलो हाराहारी सुन नेपाली बजारमा खपत हुन्छ ।